कोरियन भाषा पास गरेपछि हुने प्रक्रियागत ढिलाइको समाधान गर्न माग गर्दै ज्ञापनपत्र
काठमाडौं : कोरियन भाषा पास गरेपछि हुने प्रक्रियागत ढिलाइको समाधान गर्न माग गर्दै नेपालस्थित इपीएस शाखाका प्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ।
भाषा प्रशिक्षकहरूको सहभागितामा ईपीएसमार्फत कोरिया जाने विद्यार्थीहरूको फ्लाइट रद्द, सिप विल्डिङ तथा कृषितर्फ पास भएका विद्यार्थीहरूको प्रक्रियागत ढिलाइ तथा कोरिया रिटर्नीको विभिन्न समस्याहरू समाधानको माग गर्दै ईपीएस कार्यालय प्रमुख राजकुमार राईलाई ज्ञापनपत्र बुझाइएको हो।
भाषा प्रशिक्षक सन्तोष पाण्डेको संयोजकत्वमा पुगेको टोलीले ४ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो। ईपीएसमार्फत प्रक्रिया पूरा गरि उत्तीर्ण भएका विद्यार्थीहरू काठमाडौंमा नै बस्नु पर्ने बाध्यताले आर्थिक बोझको सामना गर्नु परेको तथा बारम्बारको फ्लाइट क्यान्सिलका कारण आवास, यातायात र अन्य खर्चहरूमा भारी आर्थिक बोझ परेकोले यसको समाधान गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ।
ज्ञापनपत्रमा फ्लाइट अनिश्चितताका कारण विद्यार्थीहरूले मानसिक तनाव भोग्नु परेको, समयमा कोरिया पुग्न नसक्दा र रोजगारदाताले समयमा कामदार नपाउँदा रोजगार गुम्न सक्ने जोखिम बढेको, कृषि, पानीजहाज निर्माण र अन्य क्षेत्रमा पनि प्रक्रिया ढिलो हुँदा विद्यार्थीहरूको रोस्टरको अवधि सकिएको लगायतका विषय समेटिएको छ।
यसैगरी पानीजहाज निर्माण र कृषि क्षेत्रबाट न्यून छनौट भएकाले अन्य क्षेत्रमा रोस्टर स्थानान्तरण गर्नुपर्ने, विद्यार्थीहरूलाई मुस्कान सहितको सूचना प्रदान गर्नुपर्ने, फ्लाइट क्यान्सिलको कारण र आगामी व्यवस्थाबारे समयमै स्पष्ट जानकारी दिनुपर्ने, उपलब्ध फ्लाइटहरूमा प्राथमिकता दिएर पठाउनुपर्ने लगायतका माग राखिएको छ।