कलैया अस्पतालका डाक्टरहरूलाई दुर्व्यवहार गर्ने बाराका सीडीओलाई कारबाही गर्न माग
वीरगन्ज : बाराका प्रमुख जिल्ला अधिकारी(सीडीओ) वसन्त अधिकारीलाई कारबाही गर्न चिकित्सकहरूले माग गरेका छन्। बाराको कलैयास्थित प्रादेशिक अस्पतालका डाक्टरहरूलाई दुर्व्यवहार गरेका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई कारबाही गर्न नेपाल चिकित्सक संघ नारायणी शाखाले माग गरेको हो।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज गुप्ता र सचिव डा. नौशाद हकले प्रादेशिक अस्पतालमा पुस २१ गते अनुगमनको बहानामा पुगेका बाराका प्रमुख जिल्ला अधिकारी अधिकारीले अस्पतालको बहिरंग विभागमा बिरामीहरूको चेकजाँच गरिरहेका चिकित्सकहरूसँग अभद्र व्यवहार गरेको आरोप लगाएका छन्।
बिरामीको चेकजाँच गरिरहेकै बेला चिकित्सकहरूलाई प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले गुन्डा, फटाहा भन्दै मानमर्दन गरेकाले अधिकारीलाई अविलम्ब कारबाही गर्न चिकित्सक संघ नारायणी शाखाले माग गरेको हो।
बाराका प्रमुख जिल्ला अधिकारीलाई कारबाही नगरिए पीडित चिकित्सकहरूलाई न्याय दिलाउन तथा चिकित्सकहरूको मानमर्दनको रक्षाका लागि चिकित्सक संघ आन्दोलनमा उत्रिने चेतावनीसमेत चिकित्सक संघ नारायणी शाखाले दिएको छ।