प्रचण्डको रणनीति : मधेस र काठमाडौंमा शक्ति आर्जन
काठमाडौं : काठमाडौं र मधेस जोकोहीका लागि विशेष प्राथमिकतामा पर्छ। यहाँको शक्ति र सत्तामा राजनीतिक दल रहिरहन त मरिहत्ते नै गर्छन्। नगरून् पनि कसरी ? यी दुई ठाउँको उपस्थितले देश, विदेशसम्मै प्रभाव पर्छ।
झन् राजनीतिक दल र नेताहरूका लागि मधेस र काठमाडौंं राजधानी सत्ता र शक्तिको अभ्यास गर्ने मुख्य थलो नै हो। तर, नेकपा माओवादी केन्द्र यी दुई भूगोलमा कमजोर मात्रै छैन, २०७९ को प्रतिनिधिसभाको चुनावमा शून्य भयो। यसले जनताले माओवादी कमजोर रहेको विश्लेषण गर्न थालेका छन्। माओवादीलाई जनस्तरमा विश्वास बटुल्नै कठिन परिरहेको छ।
मधेस र राजधानीका जनतासँग माओवादी किन टाढा भयो ? अनेक कारण छन्। यसबारे प्रचण्डले सडकदेखि पार्टी बैठकसम्म स्वीकार गर्दै आएका छन्, ‘हामी सत्तामा अलि बढी नै केन्द्रित हुँदा जनतासँगको सम्बन्ध टुट्यो।’ त्यसको प्रभाव काठमाडौंं र मधेसमा अलि बढी नै परेको भन्दै उनी स्पष्टीकरण दिँदै आएका छन्, ‘अब जनताको दैलोमा गएर राम्रा कामको प्रचार गर्ने र कमजोरीलाई सुधार्नु पर्छ भन्ने हामीले निर्मम समीक्षा गरेका छौं।’ जारी बैठकमा प्रचण्डले यिनै वाक्यहरू फेरि दोहो¥याएका छन्। तर, नेताहरूले प्रचण्डलाई कडा शब्दमा भन्दै आएका छन् र, फेरि बैठकमा भने, ‘अब यसरी स्थास्थितिमा पार्टी चल्दैन। प्रचण्ड सचिन्नै पर्छ, नत्र पार्टी सकिन्छ।’
यसअघिका पार्टीको केन्द्रीय समितिका मौखिक प्रतिवेदन पेस गर्दै आएका प्रचण्डलाई यसपालिको बैठकमा भने करै लाग्यो राजनीतिक प्रतिवेदन पेस गर्न। त्यस प्रतिवेदनमा काठमाडौंं उपत्यका, तराई–मधेससहित देशैभरिका एजेन्डालाई उनले उल्लेख गरेका छन्। प्रचण्डले पार्टी संगठन निर्माण र जनतासँगको सम्बन्ध बलियो बनाउनका लागि कार्यनीतिसहित बैठकमा पेस हुन बाध्य भए।
सोमबार पत्रकारहरूसँग पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले अब पार्टी स्थास्थितिमा चल्न नसक्ने ठोकुवा गरे। उनले भने, ‘पार्टी निर्माण, एकता र सुदृढीकरणसँगै पछाडि परेका समुदाय र वर्गको समानताका लागि काम गर्नुपर्छ। त्यसबारे बैठकमा जोडदार ढंगले कुरो उठिरहेको छ।’
माओवादी अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा काठमाडौंं उपत्यका र मधेससहित देशैभरि पार्टीको जनाधार सुदृढीकरणका लागि जनताको सांस्कृतिक पहिचानदेखि जनजीवनका एजेन्डाका सवालहरू प्रस्तावका रूपमा पेस गरेको उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टी निर्माण, देश विकास र जनपरिचालनका सवालमा नयाँ ढंगले जान खोजेको बताए।
माओवादीले यसअघि नै हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जनजागरण अभियान चलाउने निर्णय गरेका थिए। तर, प्रचण्डको व्यस्तता र तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। फागुन महिनाको सुरुवातबाट सञ्चालन हुने अभियानका लागि प्रचण्डले राजनीतिक प्रतिवेदनमा केही एजेन्डाहरू अघि राखेको केन्द्रीय सदस्य राजु खड्काले बताए।
माओेवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले ‘संविधानसभा र संविधान निर्माणपछि माओवादी सक्यो भन्ने बनाएको भाष्यलाई जवाफ दिने गरी काम अघि बढाउने बताए। ‘हामी अब केन्द्रीय समितिको बैठकबाट युटर्न हुन खोज्दै छौं।’ समाजवाद उन्मुख भएर माओवादीले कार्यनीति बनाउन लागेको उनले बताए। ‘स्थानीय तहलाई नमुना बनाउने। भ्यालीको संरचना बदल्ने, जलवायु परिवर्तनका सवालदेखि महिला, मुस्लिम, उत्पीडित वर्ग, समुदायको सवाल, पहिचानका एजेन्डालाई नयाँ ढंगबाट लिएर जान्छौं’, उनले भने, ‘पार्टीमा पेस भएको प्रतिवेदन पास भएपछि त्यसलाई मुद्दाका रूपमा स्थापित गर्न लाग्छौं।’
यता पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक दृष्टिकोणको स्पष्टतासहित माओवादी अघि बढ्नुको विकल्प नरहेको बताए। ‘माओवादी नेता तथा कार्यकर्ताको जीवनशैली किताबको खुलापानाजस्तै पारदर्शी हुनुपर्छ। नैतिक चरित्र सबैको विश्वास जित्ने खालको हुनुपर्छ’, बैठकमा कुरो उठेको छ, ‘अध्यक्षसहित सबै नेता तथा कार्यकर्ता श्रम र उत्पादनमा जोडिनुपर्छ। कम्तीमा यो काममा अध्यक्ष महिनामा तीनपल्ट जोडिनु पर्छ।’
दण्डहिनताको अन्त्यसँगै पार्टीका विभागहरू प्रभावकारी बनाउनुपर्नेमा नेताहरू कुरा उठाएका छन्।
उनले भने, ‘पार्टी आन्दोलनलाई सडक र सदनसित जोड्नुपर्छ। सदनको हिउँदे अधिवेशन छिटो आह्वान गर्न दबाब दिने र अरू पार्टीसँग छलफल गर्नुपर्छ भन्ने मत बलियो छ।’ अभियानमा गएर मात्रै महाधिवेशन गर्ने अधिकांश नेताहरूको भनाइ रहेको उनले बताए।
बैठकमा १८० जनाले बोल्नका लागि नाम टिपाएकोमा दोस्रो दिन ८० जनाले धारणा राखेका थिए। बैठक मंगलबार बिहान ११ बजेबाट फेरि सुरु हुनेछ।
काठमाडौंं उपत्यकाका लागि एजेन्डा
१. उपत्यकाको ऐतिहासिक पुरातात्विक संस्कृतिक महत्वको व्यक्तित्व, संस्था र सम्पदाहरूको सम्मान र जगेर्ना।
२. व्यवस्थित सहरीकरण र बसोबास ।
३. परम्परागत सम्पदा, संस्कृतिक धरोहर र संस्कृति रक्षासहितको विकास ।
४. फोहोर व्यवस्थापन र पर्यावरणको रक्षा ।
५. खानेपानी र ढल निकासको व्यवस्था ।
६. बागमती सभ्यताको विकास ।
७. उपत्यकाका मूलवासीमाथिको उत्पिडन ।
८. सार्वजनिक यातायातको व्यवस्थापन ।
९. नदी किनारका बस्तीहरूको व्यवस्थापन ।
१०. सुकुम्बासी समस्या ।
११. दैनिक सेवा प्रवाहको समस्या ।
१२. सुकुम्बासी एवं सामुदायिक गुठीहरूको समस्या ।
१३. हरियाली मनोरञ्जन पार्क
तराई–मधेसका लागि एजेन्डा
१. चुरेको संरक्षण र सम्बर्द्धन।
२. सिँचाइ व्यवस्थान।
३. खानेपानीको समस्या समाधान।
४. मधेसमा बसोबास गर्ने जातजातिको संस्कार, संस्कृति, भेषभूषा, परम्पराको संरक्षण र विकास।
६. मधेसी दलित, महिला, मुस्लिम, आदिवासी जनजाती, अल्पसंख्यकलाई पार्टीभित्र र बाहिर सर्वाधिक स्थान दिने।
५. सुकुम्बासी समस्याको समाधान।
६. मिटरब्याज पीडितलाई न्याय दिलाउने।
७. कृषि सहकारीमार्फत सामूहिक कृषि खेती।
८. किसानले उत्पादन गरेको कृषि उपजको सहज बजारीकरण।
९. असल किसान परिचयपत्र वितरण।
१०. नदी कटान, डुबानको समस्या समाधान।