सहकारीको रकम हिनामिना : रुकुमपश्चिममा सरकारको समेत करिब दुई करोड डुब्यो

सहकारीको रकम हिनामिना : रुकुमपश्चिममा सरकारको समेत करिब दुई करोड डुब्यो

रुकुमपश्चिम : आठबिसकोट नगरपालिका- ९ स्थित आठबिसकोट बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ता र स्थानीय सरकारबाट लिएको कर्जा फिर्ता गर्न नसकेपछि सहकारीनै बन्द भएको छ ।  

यो सहकारीले बचतकर्ताको करिब पाँच लाख र आठबिसकोट नगरपालिकालाई एक करोड ७२ लाख रुपैयाँ फिर्ता गर्न नसकेपछि बन्दको अवस्थामा पुगेको हो । सहकारीले बचत र कर्जा फिर्ता नगरेको भन्दै नगरपालिकाको न्यायिक समितिमा उजुरी परेपछि नगरपालिकाले छानबिन समिति गठन गरेको छ ।

वडा नम्बर १ का वडा अध्यक्ष देवबहादुर घर्तीको संयोजकत्वमा गठित छानबिन समितिले दैनिक तथा मासिक बचतकर्ता र नगरपालिकाबाट लिएको कर्जा फिर्ता गर्न नसकेको जनाएको छ । छानबिन समितिका संयोजक घर्तीका अनुसार सहकारीले नगरपालिकाबाट लिएको एक करोड ७२ लाख पाँच हजार रुपैयाँ फिर्ता गर्न नसकेको हो ।

शैक्षिक कर्जाका लागि लिएको एक करोड रुपैयाँ, घरेलु तथा साना उद्योगका लागि दिएको ३८ लाख ४० हजार र विपन्न नागरिकको शेयर लगानीको लागि लिएको ३३ लाख ६५ हजार रुपैयाँ फिर्ता गर्न नसकेको समितिको प्रतिवेदनमा उल्लेख छ । 

नगरपालिकाले सहकारीमा ६ सय ७३ जना विपन्न नागरिकको शेयर खरिदका लागि उक्त रकम दिएको थियो । सहकारीले एक व्यक्तिलाई पाँच हजारका दरले ५० कित्ता शेयर दिनेगरी उक्त कर्जा लिएको बुझिएको छ । 

बचत रकम पनि फिर्ता हुने संभावना न्यून

सहकारीमा दैनिक र मासिक रुपमा बचत गरेका बचतकर्ताहरूको रकम समेत डुबेको छ । छानबिन समितिका अनुसार ६९ जना दैनिक बचतकर्ताको एक लाख ७५ हजार १ सय १५ रुपैयाँ र १ सय १० जना मासिक बचतकर्ताको ३ लाख ३ हजार ६१ रुपैयाँ फिर्ता गर्न सकेको छैन ।

आठबिसकोट नगरपालिकाको सहकारी ऐन, २०७४ बमोजिम दर्ता नम्बर ४३ मा २०७४ चैत्र १८ गते यो सहकारी दर्ता भएको थियो । सुरुमा १ सय १ जना मात्र शेयर सदस्य रहेको यस सहकारीमा हाल ९ सय ५६ जना शेयर सदस्य छन्  । 

सहकारी सञ्चालक समितिका सचिव घनश्याम भण्डारीका अनुसार ऋण लिएकाहरूले साँवा तथा व्याज नदिँदा सहकारी बन्द हुने अवस्थामा पुगेको बताए । उनले ५० हजारदेखि माथि ऋण लिएका ३६ जना ऋणीले नियमानुसार रकम फिर्ता नगर्दा यो समस्या आएको बताए । उनका अनुसार ऋण असुलीका लागि पाँचपटक भन्दा बढी नै पत्राचार गरि सार्वजनिक सूचना समेत जारी गरिएको छ भने ऋण नतिर्नेहरूको विवरण जिल्ला प्रहरी कार्यालयमा पनि जानकारी गराइएको छ । अब धितो लिलाम गरेर भएपनि ऋण असुली गरिने उनको भनाइ छ । 

वडा नम्बर- ५ का वडा अध्यक्ष समेत रहेका भण्डारीले १०२ औं नगर कार्यपालिका बैठकमा छानबिन समितिको प्रतिवेदन पेश भएको र असुल उपरका लागि न्यायिक समितिलाई जिम्मा दिइएको बताए ।  उनका अनुसार बचत र कर्जा रकम असुलीका लागि एक महिनााको भाका दिने र सो अवधिमा पनि ऋण तिर्न नसके कानुन बमोजिम कारवाहीसँगै असुलीउपरको प्रक्रिया सुरु गर्ने  निर्णय गरिएको छ ।

देशभर सहकारी ठगी तथा बचत कर्ताको रकम अपचलन भइरहकेको अवस्थामा रुकुममा पनि यो समस्या देखिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.