शिक्षालय हुन्, ज्ञानालय होइनन्

शिक्षालय हुन्, ज्ञानालय होइनन्

धेरैको सामान्य बुझाइमा पर्यायवाचीजस्तै प्रतीत हुन्छन्, शिक्षा र ज्ञान। मभित्र विद्यालय तहको विद्यार्थी छँदादेखि नै यी दुई शब्दको साम्य र वैषम्यबारे जिज्ञासाको बीजारोपण भएको थियो। एकजना संस्कृतका प्रकाण्ड विद्वान् आचार्य गुरुसँग यसको खास उत्तरका लागि प्रश्न गरेको थिएँ, यी दुई शब्दका बीचमा तात्विक भिन्नता केही छ कि छैन भनेर। तर उहाँबाट चित्तबुझ्दो उत्तर पाउन सकेको थिइनँ त्यतिखेर।

यसपछि पनि धेरै गुरुहरूसँग जिज्ञासा राखिरहें, उच्च शिक्षा ग्रहण गर्ने सिलसिलामा पनि। अभिधार्थमा उत्तर पाउँदैमा मेरो घैंटामा घाम लाग्ने कुरै थिएन। यो भोक वा तिर्खाबाट तृप्त हुन आफैंलाई गुरु मानेर धेरैपटक सोधें। वास्तवमा जिज्ञासाको चित्तबुझ्दो समाधान नपाउँदासम्म मनमा एक प्रकारको तनाव हुर्किरहँदो रहेछ। यही मभित्र मनमा हुर्किरहेको तनावको मुखरणका रूपमा यी शब्दहरू निबन्धन हुँदैछन् यहाँ केही अनुच्छेदहरूमा।

शिक्षा र ज्ञान दुवै शब्दको मूलस्रोत हो भाषिक सम्प्रदायको भारोपेली परिवार। यो मैले भनेको होइनँ नि ! भाषाविज्ञानले यही तथ्यको उद्घाटन गर्दछ, यसलाई नै सत्य मान्दछ। भारोपेली परिवाररूपी वृक्षको मूल जराको शतम् शाखा हुँदै शब्दको व्युत्पत्तिगत दृष्टिले संस्कारबाट जन्मिएको भाषालाई संस्कृत भनिन्छ। भन्नेहरूले यसलाई देवभाषा पनि भनेका छन्। संसारकै सर्वप्राचीन भाषा पनि भनेका छन्। अझ तल झरेर भन्नेहरूले त बाहुन, क्षेत्रीहरूको भाषा पनि भन्ने गरेका छन्।

यस्ता कतिपय भनाइमा सत्यताको आभास हुँदैन। तथ्यहीन कुतर्क पनि कतैकतै हो कि जस्ता लाग्छन्। जे होस्, संस्कृत प्राचीन भाषाहरूमा अति समृद्ध र वैज्ञानिक छ भन्ने कुरालाई नकार्न पटक्कै सकिँदैन। यो व्यवस्थित व्याकरण र समृद्ध साहित्य तथा वाङ्मयका विभिन्न शाखा प्रशाखामा विस्तारका दृष्टिले निकै सम्पन्न भाषा मानिन्छ। यहाँ यो प्रसंग किन उठाएको हुँ भने शिक्षा र ज्ञान यी दुवै यही समृद्ध भाषा संस्कृतको कोशीय गर्भबाट जन्मेका शब्द हुन्। देवनागरी लिपिको वर्णानुक्रममा ज्ञान ‘ज’ अन्तर्गत र शिक्षा ‘श’ अन्तर्गत लिपिबद्ध हुन्छन् शब्दकोशहरूमा। संस्कृतबाट अन्य अनेकौं आधुनिक आर्यभाषाहरूमा जस्तै नेपाली भाषामा पनि अविकृत रूपमा प्रचलनमा आएका हुनाले यी दुवै शब्दलाई हामीले तत्सम शब्दका वर्गमा राखेका हौं।

सामान्यतः शिक्षाबाट सिक्नु र ज्ञानबाट जान्नु अर्थ द्योतन हुन्छ। अर्थात् शिक्षाले सिकाइ र ज्ञानले बोधलाई बुझाउँछ। नेपाली शब्द सागरमा शिक्षाको अर्थ कुनै विषयगत अर्ती, उपदेश वा तालिम भनेर दिइएको छ भने ज्ञानको अर्थ सामान्य वा विशेष भन्ने कुराको जानकारी भनिएको छ। यसरी हेर्दा यी दुवैमा समावेशात्मक अर्थ अन्तर्भूत छ भन्न सहजै सकिन्छ। तर पर्यायवाची हुन् कि होइनन् ? यहाँ यसै प्रश्नको उत्तर खोज्ने प्रयास हुँदै छ।

खासमा शिक्षा बाह्य र ज्ञान आन्तरिक कुरा हो। शिक्षा सिकेर जान्ने कुरा हो भने ज्ञान जानेर व्यवहारमा उतार्ने कुरा हो। धूमपान स्वास्थ्यका लागि हानिकारक छ भनेर स्वास्थ्य शिक्षा शिक्षण गर्ने कुनै शिक्षकले कक्षामा पढाउनु शिक्षा दिनु हो। प्राप्त शिक्षा अनुसार ती शिक्षकले धूममान गर्न छाडेका छन् भने उनले ज्ञान पनि प्राप्त गरेका हुन्छन्। तर धूममान स्वास्थ्यका लागि हानिकारक छ भनेर पढाउने, तर स्वयंले भने धूमपान गर्छन् भने उनले शिक्षा त पाए तर ज्ञान पाएका छैनन्। शिक्षाले व्यक्तिलाई शिक्षित बनाउन सक्छ, तर ज्ञानी बन्न त ज्ञान चाहिन्छ। ससाना नानीबाबुलाई ज्ञानी बन्नू भन्छौं। यसबारे सुनेको रूपक छ, जुन मिथकीय रूपक महाभारतको कथासँग जोडिएको छ। जसमा छ :

द्रोणाचार्यको गुरुकुलमा पाण्डव र कौरवहरू पढिरहेका हुन्छन्। द्रोणचार्यले उनीहरूलाई नैतिक शिक्षा पढाउने सिलसिलामा सत्यं वदः, धर्मं चरः, स्वाध्ययन मा प्रमदः, मातृ देवो भवः, पितृ देवो भवः, गुरुर्देवो भवः अतिथि देवो भवः यस्तै वाक्यहरू भएको पाठ पढाउँछन् र भोलिपल्ट कण्ठ गरेर सुनाउन भनेर मौखिक गृहकार्य दिन्छन्। यस्ता पाठ निकै सजिला भएकाले सबैजसोले सश्वर वाचन गरेर सुनाउँछन्। तर युधिष्ठिरले भने सुनाउन सक्तैनन्। अरूको पाठ निकै अगाडि पुगिसकेको हुन्छ। भाइहरू जान्नेभित्र पर्छन्। तर युधिष्ठिर नजान्ने, पाठ सुनाउन नसक्ने छात्रका रूपमा गनिन्छन्।

एकदिन गुरु द्रोणाचार्यले उनलाई एकान्तमा लगेर सोध्छन्, युधिष्ठिर ! तिमी विवेकी छौ, भाइहरूको पाठ अगाडि बढिसक्यो, तिमी भने अझै पनि सुरुमै छौ, कारण के हो ? युधिष्ठिरले गम्भीर हुँदै उत्तर दिन्छन्, गुरुदेव ! भाइहरूले जस्तै आँखा चिम्लेर पाठ सुनाउन त म पनि सक्छु नि। सुन्नुहुन्छ ? तर, पाठबाट पाइने जुन ज्ञान हो त्यो प्राप्त गर्न नसक्तासम्म कण्ठस्थ सुनाउनुको कुनै औचित्य छैन। म तपाईंसँग शिक्षा पाउन मात्र होइन, ज्ञान प्राप्त गर्न चाहन्छु गुरुदेव ! तपाईंले जे जे पढाउनु भयो, ती ती कुरालाई व्यवहारमा जबसम्म उतार्न सक्तिनँ, तबसम्म मैले पाठ सुनाएर आफैंलाई धोका दिन चाहन्नँ। जबसम्म जीवनभर सधैं सत्य बोल्न सक्तिनँ, तबसम्म सत्यं वदः भनेर पाठ सुनाउनुको औचित्य पनि देख्तिनँ।

युधिष्ठिरका कुरा सुनेर गुरु द्रोणाचार्य आश्चर्यचकित भए। उनले युधिष्ठिरको शिरमा हात राखेर भने– युधिष्ठिर ! यद्यपि म तिम्रो गुरु हुँ, तर आज तिमीले मलाई ज्ञान दियौ। शिक्षा र ज्ञानको खास भिन्नताको बोध मलाई आज मात्रै भयो। गुरुका वचन सुनेर युधिष्ठिरले आफू धन्य भएको अनुबोध गरे। यही मिथकीय रूपक कतै पढे वा सुनेपछि मात्रै शिक्षा र ज्ञानको सही आर्थी भिन्नता बुझेको हुँ। अहिले पनि शब्दकोशीय अर्थले मलाई चित्त बुझाउँदैनन्।

आज हाम्रा आधुनिक विश्वविद्यालय, विद्यालयहरूमा शिक्षा मात्र दिइन्छ, ज्ञान दिइन्न। यसर्थ यी शिक्षालय हुन्, ज्ञानालय होइनन्। प्राचीन कालका गुरुकुलहरू ज्ञानपीठका रूपमा प्रतिष्ठित थिए। त्यहाँबाट प्रज्ञाशील व्यक्तिहरू उत्पादित हुन्थे। यसर्थ प्राज्ञ कहलिन्थे। तर नेपालका सन्दर्भमा अहिले प्राज्ञ हुन ज्ञान चाहिँदैन, चाकरी गर्ने तरिका जाने हुन्छ। अल्पविद्या भए पनि नेताहरूलाई रिझाउन सके सजिलै प्राज्ञ बन्ने अवसर पाइन्छ। होइन त ? मलाई त हो जस्तो लाग्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.