स्ट्रेचर नहुँदा शिशुसँगै बाटोमै अस्ताइन् खिना

स्ट्रेचर नहुँदा शिशुसँगै बाटोमै अस्ताइन् खिना
सुन्नुहोस्

बझाङ : जयपृथ्वी राजमार्गबाट आधा घन्टाको दूरीमा छ केदारस्युँ गाउँपालिका–१ डुडिल गाउँ । डुडिलकी २१ वर्षीया खिना बोहरालाई आइतबार दिउँसोदेखि सुत्केरी ब्यथाले च्याप्न थाल्यो ।

घरमा सासु एउटा आँखाले देख्छिन् भने ससुरा दुवै आँखा गुमाएका दृष्टिविहीन छन् । नन्दहरू भए पनि सानै उमेरका छन् । खिनाले बिहे गरेको करिब एक वर्ष भयो । उनका श्रीमान् उमेश बोहराले बिहे गरेको चार महिनामै उनलाई छोडेर भारत गएका थिए । उमेश रोजगारीका लागि भारत गएको ८ महिना बित्यो फर्किएका छैनन् । आइतबार दिउँसोबाट सुत्केरी ब्यथाले च्यापेकी खिनाकी सासु महिनावारीका कारण घर बाहिर थिइन् । सासु पुनीदेवीले खिनालाई बेला–बेला अप्ठ्यारो छ–छैन सोधिरहन्थिन् तर खिनालाई राति झन्–झन् प्रसव पीडा हुन थालेपछि सासुलाई खबर गरिन् । 

राति २ बजेको समय भएकाले सामान्य होला भन्दै खिनाका सासु र नन्दहरू बिहान उज्यालोका लागि पर्खी बसे । ब्यथाले थप च्यापेपछि बिहान ४ बजे उनलाई घरबाट केदारस्युँ एक देउरामा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रका लागि घरबाट हिँडाइयो । गाउँमा स्ट्रेचर नभएपछि उनलाई हिँडाउनुपर्ने बाध्यता थियो । उनको घरबाट सामान्य मानिसले हिँड्दा करिब १५ मिनेट लाग्ने भट्टे भन्ने ठाउँमा उनले बिहान ४:३० बजे छोरालाई जन्म दिइन् ।

उनले जन्माएको शिशु रुने कराउने कुनै संकेत नभएको स्थिर जन्मियो । छोरा जन्मिएपछि खिनाका नन्द र फुपु वडा सदस्य पदमप्रसाद भट्टको घरमा हँसिया र पानी माग्न पुगिन् । त्यसैबेला वडा सदस्य भट्टले रायल प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब कमलकुमार मल्ललाई खबर गरी एम्बुलेन्स बोलाए ।  

वडासदस्य भट्ट त्यहाँ पुग्दासम्म खिना र शिशु दुबैको मृत्यु भइसकेको थियो । सुत्केरी भएको एक घण्टासम्म बच्चातिर हेरेकी खिनाको रक्तश्राव भएको र बच्चाको पनि स्वास्थ्य अवस्था ठिक नभएको हुँदा ज्यान गएको रायल प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब कमलकुमार मल्लले बताए ।  
‘छोरा जन्माएको खुसी साट्दै बुहारीले मेरो काखीमा अडेस लगाएकी हो । हामी पनि खुसी थियौं तर कुरा गर्दागर्दै रगत धेरै बग्यो । केहीबेरमै बुहारी बोल्न छाडिन्,’ खिनाकी सासु पुनीदेवीलाई उदृत गर्दै वडा सदस्य भट्टले भने । 

‘गाउँमा अटो पनि चल्छ, सडक पनि छ तर स्ट्रेचर नभएको साँचो हो । खिनाका परिवारले आफूलाई खबर नगर्दा यो अवस्था आएको हो ।,’ वडा सदस्य भट्टले थप्दै भने ।  सिनियर अहेब कमलकुमार मल्ल गाउँमा सामान्य हिसाबले सुत्केरी भइहाल्छन् भन्ने उद्देश्यले पनि स्वास्थ्य संस्थामा नलैजाने गरेको बताउँछन् ।

केदारस्युँ गाउँपालिका सडक सञ्जालले छोए पनि नागरिकमा अझै जनचेतना नभएको गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा स्वीकार्छन् । समयमै उपचार नपाएर धेरैको ज्यान गएको र अब यी कुरामा संवेदनशील हुने केदारस्युँ गाउँपालिका उपाध्यक्ष मनिसा धामीको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.