एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन : प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव दिँदै
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक तेस्रो दिन जारी रहेको छ। आइतबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पेश गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले बोल्न बाँकी रहेपछि बैठक लम्बिएको हो।
प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यहरूलाई समूहगतरुपमा विभाजन नगरी बैठकमा पालैपालो बोल्न दिइएको छ। केन्द्रीय सदस्यले ३ मिनेटभित्र प्रतिवेदन र राजनीतिक विषयमा बुँदागत रुपमा सुझाव र धारणा राख्नेछन्। यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेको थियो।
नेकपा एमाले संगठन विभाग सचिव माधव ढुंगेलले यस पटकको पार्टी केन्द्रीय कमिटी बैठकमा मैले बाल्न पाइनँ भन्ने भाष्यको अन्त्य भएको बताएका छन्। बैठकमा केन्द्रीय सदस्यहरूले खुलस्त रूपमा आफ्ना कुरा राख्न पाएको उनको भनाई छ। ढुङ्गेलले नेतृत्वको मौनता तोडी पार्टीमा बलियो आन्तरिक एकताको सन्देश प्रवाह गर्न बैठक सफल हुने विश्वास व्यक्त गरे ।
सरकारले गरेका महत्त्वपूर्ण कामको सूची तयार पारी पार्टीको सिङ्गो पङ्क्तिले बोक्ने प्रचार र प्रभावको अगुवाइ गर्ने संकल्प बैठकले गर्नुपर्ने उनले बताए।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले गुटबन्दी, अनुशासनहीनता र अवसरवादी चरित्र बढ्दै गएको गुनासो गरेका छन्। उनीहरूले माथिल्लो तहबाटै संरक्षण हुँदा पार्टीमा गुटबन्दी बढेको भन्दै गुटबन्दी अन्त्यका लागि नेतृत्वसँग आग्रह पनि गरेका छन्। माथिको गुटबन्दीले तलसम्म असर पारिरहेको उनीहरूको भनाइ छ।
केन्द्रीय सदस्यहरूले धारणा राखेपछि महासचिव पोखरेल र प्रधानमन्त्री एवं अध्यक्ष ओलीले जवाफ दिने कार्यसूची छ। आजै बैठक समापन गर्ने एमालेको तयारी छ।