भूकम्पमा परी चीनमा मृत्यु हुनेको संख्या ५३ पुग्यो, नेपालमा पनि क्षति
काठमाडौं : बिहान गएको भूकम्पमा परी चीनमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ। तिब्बतको क्षेत्रीय विपद् व्यवस्थापन मुख्यालयका अनुसार मंगलबार बिहान सिगात्से सहरको डिङ्ग्री काउन्टी,शिजाङ स्वायत्त क्षेत्रमा आएको भूकम्पका कारण ५३ जनाको मृत्यु भएको छ।
उक्त भूकम्पमा परी हालसम्म ३८ जना घाइते भएका चीनियाँ समाचार एजेन्सी सिन्ह्वामा उल्लेख छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६:५० बजे चीनको तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो।
सिगात्सेबाट ३५ किलोमिटर टाढाको क्षेत्रमा केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकप्पको धक्का चीन, नेपाल, बंगालादेश, भारत र भुटानमा पनि महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
भूकम्पको प्रभाव नेपालमा पनि परेको छ। भूकम्पबाट मानवीय क्षति भएको एकिन नभए पनि भौतिक संरचनामा क्षति पुगेको विभिन्न जिल्लाबाट खबर प्राप्त भएको छ।
भूकम्पका कारण सोलुखुम्बुमा दुईवटा घर भत्किएका छन् भने सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका- ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। रामेछापमा एउटा गोठमा क्षति पुगेको छ।
काठमाडौंको स्युचाटारस्थित घरको छतबाट हामफाल्दा एकजना घाइते भइ अस्पतालमा उपचारत रहेक प्रहरीले जनाएको छ। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको र उपचारपछि स्वास्थ्य अवस्था सामान्य भई उनीहरू डिस्चार्ज भइसकेको बारा प्रहरीले जनाएको छ।