मुक्तिनाथ विकास बैंकद्वारा नगददेखि मोबाइल फोनसम्म हात पार्न सकिने योजना सार्वजनिक
काठमाडौं : मुक्तिनाथ विकास बैंकले १९ औं वर्ष प्रवेश गरेको अवसरमा ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्तिनाथ एनिभर्सरी बोनान्जा योजनाअन्तर्गत विभिन्न योजना सार्वजनिक गरेको छ।
पहिलो योजना अनुसार बैंकको मोबाइल बैंकिङमा भएको कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्ने ग्राहकहरू मध्येबाट २ जना ग्राहकलाई लक्की–ड्र मार्फत मोबाइल फोन प्रदान गरिने छ। यसैगरी रु १०० वा सो भन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले लक्की–ड्र मार्फत रु १००को टपअप प्राप्त गर्नेछन्। यो योजना २०८१ पौष १९ गते देखि २०८१ माघ १९ गतेसम्मका लागि रहनेछ।
दोस्रो योजना अनुसार बिजुलीको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित रहेको छ। यस योजनामा बैंकको मोबाइल बैंकिङ मार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ जना ग्राहकले लक्की–ड्र मार्फत बिल भुक्तानी रकम वा अधिकतम रु १० हजार १२५ सम्म प्राप्त गर्न सक्नेछन्। यो योजना २०८१ पौष १९ गते देखि माघ १९ गते सम्मका लागि हुनेछ।
तेस्रो योजना अनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोवार क्यूआर मार्फत प्राप्त नगरेका मर्चेन्टहरुले यस अवधिमा कारोबार संख्या ३ र रकम रु २०० सम्मको कारोबार रकम क्यूआर मार्फत प्राप्त गरेमा त्यस मर्चेन्ट मध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा रु २०० सम्मको रकम क्यूआर मार्फत प्राप्त गरेमा त्यस प्रकारका मर्चेन्टहरु मध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत स्कार्ट वाच प्राप्त गर्नेछन्। यो योजना २०८१ पौष १९ गते देखि पौष २५ गतेसम्मका लागि हुनेछ।
यसका साथै मोबाइल बैंकिङ मार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक १ जनालाई लक्की–ड्र मार्फत रु १००० क्यास व्याक प्रदान गरिने छ। साथै क्यूआर मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरु मध्येबाट दैनिक २ जनालाई लक्की–ड्र मार्फत रु ५०० का दरले क्यास व्याक प्रदान गरिने छ। यो योजना २०८१ पौष १९ गते देखि पौष २५ गतेसम्मका लागि हुनेछ।
विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिजा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ। बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ। त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ।