तिब्बत भूकम्प : राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले चीनको स्वशासित क्षेत्र तिब्बतमा आज बिहान भएको भूकम्पबाट ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन्।
राष्ट्रपतिले सामाजिक सञ्जाल एक्समार्फत भूकम्पमा ज्यान गुमाएकाहरूका परिवारजनमा हार्दिक समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले गहिरो शोकको यो घडीमा नेपाल सरकार चीन सरकार र त्यहाँका जनताका साथमा रहेको उल्लेख गरेका छन्।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा गएको विनाशकारी भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले राष्ट्रपति सी जिङपीङ, चिनियाँ जनता र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। 'यस दुःखद घडीमा नेपाल हाम्रा छिमेकीहरूसँग दृढताका साथ खडा छ,' उनले भनेका छन्।
त्यस्तै परराष्ट्र मन्त्रालयले पनि भूकम्पबाट पर्न गएको क्षतिप्रति दुःख व्यक्त गरेको छ। भूकम्पका कारण भएको जनधनको क्षतिप्रति चीन सरकार र जनताप्रति मन्त्रालयले संवेदना अर्पण गरेको छ।