‘नेपाल र चीनबीच कृषि तथा पर्यटन क्षेत्रमा भएको सहमतिले मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुग्छ’
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल र चीनबीच कृषि तथा पर्यटन क्षेत्रमा भएको सहमतिले मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।
नेपालको कृषि तथा पर्यटन विकासमा चीनको बिआरआई फ्रेमवर्कले पुराउने सहयोगका विषयमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले नेपाल र चीनबीच भएका सहमतिले मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने भएकाले यसको कार्यान्वयनमा विशेष जोड दिने पनि बताउनुभयो।
उनले प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने विषयमा भएको सम्झौताले नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा महत्वपूर्ण हुने धारणा राखे।
पशुपक्षीमा देखिने खोरेत रोगमुक्त क्षेत्र घोषणाका लागि इलामबाट काम सुरु भइसकेको र अन्य जिल्लामा विस्तार गरिने उनले बताए। उनले वनस्पति निर्यातका लागि चीनको भन्सारसँग समन्वय गरिएको बताए।
त्यस्तै नेपालका लागि चिनियाँ राजदूत छन सोङले नयाँ प्रविधिको प्रयोग गर्दै बिआरआइ फ्रेमवर्कका परियोजनाहरूलाई अघि बढाउने बताए। मुलुकको पर्यटन क्षेत्रका विकास पनि चीनले विभिन्न कार्यक्रमहरू अघि सारेको भन्दै उनले यसले दुईदेश बीचको पर्यटनसम्बन्ध समेत विस्तार हुने बताए।
कार्यक्रममा नेपाल–चाइना फ्रेन्डसिप फोरमका अध्यक्ष डा कल्याणराज शर्मा लगायतले बिआरआईसँग सम्बन्धित लगानीले नेपाललाई पुराउने फाइदाका बारेमा चर्चा गरेका थिए।