सशस्त्र प्रहरीका ४ डीआइजीहरूको म्याद थप्ने सरकारको निर्णय
काठमाडौं : सरकारले सशस्त्र प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरूको म्याद थप गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआइजीहरू कमल गिरी, गणेश थाडामगर, कूलबहादुर नेम्वाङ र शम्भु सुवेदीको एक वर्षको म्याद थपेको हो। उनीहरूको चार वर्षे पदावधि आज सकिँदै थियो।
सशस्त्र प्रहरी नियमावलीमा डीआइजीको पदावधि चार वर्षको हुन्छ। सरकारले चाहेमा थप एक वर्ष थप्न सकिने व्यवस्था छ। सशस्त्र नियमावली २०७२ को परिच्छेद १० को दफा ६५ मा एआईजी र डीआईजीको पदावधि आईजीपीको सिफारिसमा मन्त्रिपरिषद्ले एक वर्ष थप्न सकिने व्यवस्था गरेको छ।
'उपनियम (१) को खण्ड (ग) को उपखण्ड (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा नेपाल सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बहाल रहेका सशस्त्र प्रहरी अधिकृतको पदावधि एक वर्ष थप गर्न सक्नेछ,' नियमावलीमा भनिएको छ।