दुबईमा पासपोर्ट नवीकरण गर्नै सास्ती
दुबई : दुबई बस्ने झापाकी मुना अधिकारीको पासपोर्टको म्याद फेब्रुअरी ५ मा सकिँदै छ । अनलाइनमार्फत मुनाले फारम भर्न प्रयास गरेको एक महिनाभन्दा बढी भयो । तर, सकिनन् । त्यसैकारण मुनाले ५० दिर्हाम (१ हजार ८ सय ५० रुपैयाँ) दिएर टाइपिङ सेन्टरलाई पासपोर्ट बुझाइन् ।
टाइपिंग सेन्टरले पनि भोलि–भोलि भन्दै झुलाइएको दुई साता भयो । ‘अनलाइनमा कहिले खुल्छ र कहिले बन्द हुन्छ भन्ने नै थाहा नपाएर टाइपिंग सेन्टरलाई फाराम भर्न दिन बाध्य भइयो’, स्नातकसम्म अध्ययन गरेकी मुनाले भनिन्, ‘अझैसम्म फारम भरिएको छैन । फाराम भरेपछि कहिले फोटो खिच्ने पालो आउने हो, त्यसको पनि टुंगो छैन । अब कहिले नयाँ पासपोर्ट आउने त्यो पनि टुंगो भएन ।’
फुजेराहमा कार्यरत सुर्खेतका जीवन शाहीले दुबईकै एउटा टाइपिंग सेन्टरलाई ३ सय ७५ दिराम तिरेर पासपोर्ट बनाए । ३४ पेजको पासपोर्ट नवीकरण शुल्क २ सय दिराम भए पनि १ सय ७५ दिराम सेवा शुल्क र कुरियर सेवाबापत तिर्नु परेको हो । ‘फेरि आउनु परे गाडी भाडा धेरै तिर्नुपर्छ, त्यसैले व्यवसायीले जति भने पनि तिर्न बाध्य भइन्छ’, शाहीले भने । युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली श्रमिकहरूले पासपोर्ट नवीकरणमा सास्ती बेहोर्नु परिरहेको छ ।
नेपाली दूतावास अबुधावीले भने श्रमिकहरूको सेवाका लागि प्राथमिकताको साथ पासपोर्ट नवीकरण गर्ने काम भइरहेको जनाएको छ । दूतावासले जनवरी ५ तारिखका दिन अबुधावीबाट ३ सय किलोमिटर टाढा घुम्ती शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा ३ सय ३५ जनाको पासपोर्ट नवीकरण गरिएको र ५ सय ५० जनालाई श्रम नवीकरण, विप्रेषण र अन्य जनचेतना प्रदान गरिएको जनाएको छ ।
दूतावासमा दैनिक २ सय जनाको मात्र पासपोर्टको नवीकरण गर्ने गरिएको छ । यसरी कोटा सिस्टमले हजारौं श्रमिकहरूको पासपोर्ट अनलाइन फारम भर्न टाइपिङ सेन्टरमा थन्किएका छन् । यसअघि दूतावासले दैनिक ३ सय ५० भन्दा बढी पासपोर्ट नवीकरण गरेको थियो । दूतावासले एक विज्ञप्ति जारी गर्दै म्याद सकिएको, भिसाको म्याद सकिएको र हराएर समस्यामा परेका सेवाग्राहीलाई प्राथमिकतामा राखेको जानकारी दिएको छ । यद्यपि दूतावासको सेवा प्रवाह श्रमिकमैत्री नभएको श्रमिकहरूले गुनासो गरेका छन् ।
अबुधावी बस्ने भोजपुरकी मन्दिरा बस्नेतले त आफूलाई कर्मचारीले ‘ह्यारेसमेन्ट’ गरेको गुनासो गरेकी छिन् । बस्नेतले आफ्नो गुनासो दूतावासमा सुनाइदिन आग्रह गरेकी छिन् । बाराका सुमन सिंहले पनि दूतावासको कर्मचारीले रुखो व्यवहार गरेको अनुभव सुनाए ।
नेपाली दूतावासका द्वितीय सचिव तिलबहादुर सुनारले कर्मचारीको अभावले भनेजस्तो सेवा प्रवाह गर्न कठिनाइ भइरहेको बताए । उपलब्ध जनशक्तिले काम गर्दा अहिले दूतावास ‘गुडिरहेको’ अवस्थामा सेवा दिइरहेको उनको दाबी छ । यूएईमा रहेका नेपालीहरूको संख्यालाई मध्यनजर गर्दै अरू दुई जना थप जनशक्ति भए दूतावासले ‘उड्ने’ गरी सेवा प्रवाह गर्ने सुनारले बताए ।
दूतावासकी उपनियोग प्रमुख रञ्जिता दाहालले भने आफूहरू पासपोर्ट नवीकरणलाई सहज बनाउन प्रयासरत रहेको बताइन् । यद्यपि दाहालले पनि दूतावासले अहिले लागू गरिरहेको कोटा प्रणाली सही रहेको दाबी गरिन् । बजारमा श्रमिकहरूको पासपोर्ट नवीकरणमा हाहाकार स्थितिलाई सम्बोधन गर्न घुम्ती शिविरबाहेक दूतावासको कुनै योजना देखिएको छैन ।
गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष विकास शाहीले पासपोर्ट नवीकरणको समस्या तुरुन्त सामाधान खोजिनुपर्ने बताए । सामान्य श्रमिकले आफैं फारम भर्ने अवस्था नरहेको भन्दै शाहीले सहज तरिकाले फारम भर्न÷भराउन दूतावासलाई सहयोग गर्न तयार रहेको बताए ।