निकुञ्जले हवाई उडान खुलायो, वायुसेवाले खोजे सुरक्षाको प्रत्याभूति

निकुञ्जले हवाई उडान खुलायो, वायुसेवाले खोजे सुरक्षाको प्रत्याभूति
सुन्नुहोस्

काठमाडौं : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु क्षेत्रमा हवाई उडानको रोक खुलाए पनि वायुसेवा कम्पनीहरूले नउडाउने भएका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जले खुम्बु क्षेत्रमा हवाई उडान÷अवतरण÷होभरिङ गर्न वायुसेवा कम्पनीहरूलाई अनुरोध गरेको छ ।

निकुञ्जले मंगलबार विज्ञप्ति जारी गर्दै निकुञ्जकोे वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी उडान सुचारु गर्न अनुरोध गरेको हो । निकुञ्ज र खुम्बु पासाङल्हामु गाउँपालिकाको यही पुस १७ गतेबाट अत्यावश्यक बाहेक हेलिकप्टरको व्यावसायिक उडानमा रोक लगाएका थिए । गाउँपालिकाको रोकपछि वायुसेवा कम्पनीहरूले शान्तिसुरक्षाको कारण देखाउँदै त्यसको प्रत्याभूति नभएसम्मका पुस २१ गतेबाट अनिश्चितकालीन उडान स्थगन गरेका थिए । वायुसेवा कम्पनीहरूले स्टल उडानमा पनि रोक लगाउने चेतावनी दिएका थिए । 

वायुसेवा कम्पनीहरूको चेतावनीपछि निकुञ्जले उडान खुलाउने निर्णय गरेको हो । उक्त विज्ञप्तिमा भनिएको छ, ‘निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकप्टर कम्पनीहरूलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी निकुञ्जको अनुमति लिएर तया नियमानुसार तोकिएको राजस्व बुझाई प्रचलित कानुनअनुसार सुरक्षित तवरले हेलिकप्टरको उडान÷अवतरण होभरी गर्न÷गराउन हुन सबै हेलिकप्टर कम्पनीहरूलाई अनुरोध गरिन्छ,’ भनिएको छ । निकुञ्ज प्रशासनले उडानमा लगाएको रोक खुलाए पनि पूर्ण रूपमा शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म उडान सञ्चालन नगरिने वायुसेवा सञ्चालक संघ, नेपालका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डे बताउँछन् । स्थानीय युवा तथा संघसंस्थाहरूले विरोध गरिरहेको र हेलिप्याडहरूमा रातो झन्डा ठड्याइरहेको र अहिले नै उडान सुचारु गर्दा उडान सुरक्षामा चुनौती आउन सक्ने पाण्डेको भनाइ छ ।

निकुञ्ज नेपालको उच्च हिमाली पारिस्थितिकीय प्रणाली, वन वन्यजन्तु, जैविक विविधता तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि स्थापना गरिएको हो । यस निकुञ्जको जैविक विविधता तथा सांस्कृतिक सम्पदा विश्वका लागि अनुपम भएको कारणले यस राष्ट्रिय निकुञ्जलाई युनेस्कोले सन् १९७९ मा विश्व प्राकृतिक सम्पदामा सूचीकृत गरेको छ । बर्सेनि हजारौं पर्यटकहरू यस निकुञ्जको भ्रमणमा आउने गरेका छन् । जसको कारणले आर्थिक रूपमा राष्ट्रिय तथा स्थानीय अर्थतन्त्र तथा रोजगारीमा ठूलो टेवा पुगेको भनिएको छ । 

कोभिडपछिको समयमा निकुञ्जभित्र हेलिकप्टर उडानको गतिविधि बढिरहेको छ । यहाँ भएको विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत हिमाल, तालतलैया तथा प्राकृतिक सुन्दरताको अवलोकन गर्न आउने पर्यटकहरूलाई सो स्थानको दृश्यावलोकन गर्न, पर्यटक तथा स्थानीय बिरामीको उद्वार गर्न, विकास निर्माणका सामग्री, खाद्यसामग्री तथा अन्य सामग्री ढुवानी गर्नेलगायतका कार्यका लागि निजी हेलिकप्टर कम्पनीहरूले सेवा दिँदै आइरहेका छन् । तर, पछिल्लो समयमा निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत अन्य स्थानीय समूह तथा संघसंस्थाहरूले निकुञ्ज क्षेत्रभित्र हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तु सुरक्षा तथा बासस्थान संरक्षणमा चुनौती देखिएको भन्दै उडानमा रोक लगाएका हुन् । 

स्थानीय समूहहरूले हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध सम्बन्धमा सम्बन्धित पदाधिकारीहरूसँग वायुसेवा संघका प्राधिकारीहरूले पटकपटक वार्ता गरेका छन् । उडान प्रतिबन्धका सम्बन्धमा स्थानीय गाउँपालिका, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, वन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका सरोकारवाला निकायहरूलाई वायुसेवा कम्पनीहरूले जानकारी गराएका छन् ।

खुम्बु क्षेत्र पदमार्गका लागि पर्यटकहरू माझ परिचित छ । यस क्षेत्रमा वार्षिक करिब ६० हजार पर्यटक आगमन हुने गरेको छ । त्यसमा करिब १५ प्रतिशत पर्यटकले हेलिकप्टरको प्रयोग गर्ने गरेका छन् । हेलिकप्टर कम्पनीहरूको वार्षिक कुल उडानमा करिब ६० प्रतिशत उडान यस क्षेत्रमा हुने गरेको पाण्डे बताउँछ । अहिले माउन्टेन फ्लाउट हुने समयमा उडानमा प्रतिबन्ध लगाउँदा वायुसेवा कम्पनीहरूको आम्दानीमा असर गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.