राजनीति, शिक्षासेवा तथा समाजसेवाका त्रिवेणी
राजनीति, शिक्षासेवा तथा समाजसेवाका त्रिवेणी हुन्, द्वारिकादास कर्माचार्य। पनौती, बलाक्षे टोल द्वारिका मार्गमा १९८७ सालमा जंगलाल र रत्नमायाका सुपुत्रको रूपमा उहाँको जन्म भएको थियो। द्वारिकादासको स्वभाव बुवा जंगलालको स्वभाव झैं ‘जंगे’ प्रवृत्तिको हुनुहुन्थ्यो। आफूले भनेबमोजिम गर्नु पर्ने ठाडो मिजासको हुनुहुन्थ्यो। उहाँ साँच्चै प्रजातन्त्र पक्षधर नेपाली जनताको ‘जंगी’ योद्धा र काभ्रे जिल्लाकै अमूल्य ‘रत्न’ हुनुहुन्थ्यो।
पनौतीमा जन्मिएर पनि उहाँको लोकतान्त्रिक आन्दोलनको सन्दर्भको महत्ता पूर्व १ नं. भरी झाँगिएको थियो भन्ने कुरा २०१८ सालको सशस्त्र क्रान्तिमा उहाँले काभ्रे– सिन्धुपाल्चोककै इन्चार्जको रूपमा निभाउनु भएको भूमिकाबाट बुझ्न सकिन्छ। राजनीति, शिक्षासेवा तथा समाजसेवाका त्रिवेणीका रूपमा मृत्युपर्यन्त रहनुभयो। आधुनिक पनौतीको निर्माणमा उहाँको प्रसंशनीय भूमिका रहेको कसैबाट छिपेको छैन। सादगीपन उहाँको जीवन संस्कृति थियो। गरिब गुरुवासँग रमाउनु उहाँको जीवनशैली थियो। अन्यायलाई कहिल्यै स्थान दिनु भएन। अत्याचार रोज्नु भएन। सामन्ती संस्कार र चरित्रलाई सधैं दुत्कार्नु भयो। कर्मयोगी द्वारिकादास २००६ सालदेखि मृत्युपर्यन्त प्रजातन्त्रप्रति निरन्तर र संघर्षरत रहनु भयो। प्रष्टवक्ता मिलनसार सादा जीवन उच्च विचारका धनी सदा हँसिलो व्यक्तिका रूपमा उहाँको छवि छ। हाम्रा लागि र आउने पुस्ताका लागि उहाँ आदर्श हुनुहुन्छ।
काभ्रेको राजनीतिक चेतनाको अग्रभागमा रहनु भएको द्वारिकादासको जीवनमा जेलयात्रा, मानसिक एवं शारीरिक यातना तथा निर्वासनले घेरा हालिरह्यो। उहाँ डा.के.आई. सिंह काण्ड (२००८) मा ८ महिना केन्द्रीय कारागार, नेपाली कांग्रेसको आह्वानमा भएको २०१४ सालको भद्र अवज्ञा आन्दोलन (सत्याग्रह) मा नेतृत्व एवं एक वर्ष धुलिखेल जेल पर्नुभयो। २०१८ सालमा घरबाटै पक्राउ गरी ६ महिना चौतारा एवं सेन्ट्रल जेल बिताउनु भयो। यसका साथै २००७ सालको आन्दोलनमा जीउभरि घाउ नै घाउ हुनेगरी शारीरिक तथा मानसिक यातना पनि भोग्नुभयो। त्यसो त उहाँलाई २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा जिल्ला प्रशासन धुलिखेलमा मरणासन्न हुने गरी कुटेर जेल चलान गरियो।
२०१८ सालमा तारिखमा जेलबाट छुटेपछि पिताको बरखी रहँदारहँदै भारत पसेर लगातार ९ वर्ष निर्वासित जीवन व्यतित गर्नुभएको थियो। यस्ता यातना र प्रहारहरूवाट समेत कति पनि विचलित नहुनु भएको उहाँमाथि २०२२ चैत्रमा रक्सोलमा पर्सा वीरगन्जका तेजबहादुर अमात्यसँगै एकसाथ गोली प्रहार भएको थियो। तर गोलीलाई समेत पराजित गर्दै कल्पनातीत विजयी बन्नुभयो उहाँ। उहाँ अर्थात् प्रजातन्त्रसेनानी स्व. द्वारिकादास कर्माचार्य। पनौतीको शैक्षिक क्षेत्रमा समेत उहाँको योगदान अतुलनीय रह्यो। यस क्षेत्रमा एकमात्र विद्यालय भएकाले क्षेत्रगत रूपमा यो क्षेत्र ठूलो भएको र जिल्लाकै दक्षिण भेगको केन्द्र बिन्दु पनौती भएकाले एउटा विद्यालय खोल्ने सोच उहाँले निकाल्नुभयो। तदनुरूप स्थानीय समाजसेवी, शिक्षाप्रेमी एवं भद्रभलाद्मीहरूसँग २०२६ वैशाखमा बैठक बसी निर्णय गरी २०२६ जेठ १ गतेदेखि नै श्री पुण्य प्राथमिक विद्यालय सञ्चालनमा आएको थियो। यस कार्यमा सक्रिय भई अगुवा रहनुभयो। यसका साथै इन्द्रेश्वर उच्च माध्यमिक विद्यालय पनौतीमा चार थान कम्प्युटर र फर्निचर सेटसहित उपलब्ध गराउन प्रत्यक्ष उल्लेखनीय भूमिका खेल्नुभयो। सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान कार्यमा सहयोगात्मक उल्लेखनीय भूमिका रहेको पनि पाइन्छ।
द्वारिकादास विकास निर्माणमा पनि सदा समर्पित हुनुहुन्थ्यो। उहाँको व्यक्तित्वमा समाजसेवाको वेग्लै अटुट शृंखला पनि जोडिएको छ। उहाँले राजनीतिक सामाजिक क्षेत्रमा गरेको योगदानलाई जनताले बिर्सेनन्। र त २०३९ सालमा पनौतीको प्रमुखमा उहाँलाई आफ्नो अमूल्य मत दिएर निर्वाचित गरे। उहाँ २०३८ सालमा जिल्ला पञ्चायत समितिको सदस्य हुनुभयो। जो राजनीतिक सक्रिय जीवनभन्दा पनि ज्येष्ठ र श्रेष्ठ रह्यो। उहाँको कार्यकालमा तत्कालीन निर्माण तथा यातायात मन्त्रीसँग सम्पर्क गरी पनौती–नमोबुद्ध बाटोका लागि पनौती बसपार्कमा पुल निर्माणमा उहाँको भूमिका उल्लेखनीय छ। तत्कालीन अवस्थामा बाटो नभएको ठाउँमा पुल निर्माण भयो भनेर चर्चा पनि नभएको होइन तर दूरदृष्टिलाई दृष्टिगत गरी बनाइएको उक्त पुल आज व्यापारिक क्रियाकलापका लागि महत्वपूर्ण सावित भएको छ।
राष्ट्रिय कार्यक्रम ल्याएर पनौती–बनेपा सडक पिच, पनौतीमा चाइनिज इँटा बिछ्याउने कार्य, ऐतिहासिक पुरातात्त्विक सांस्कृतिक नगर पनौतीमा वैदेशिक सहायता जुटाउने क्रममा फ्रान्सेली राष्ट्रको सहयोगको सुरुआत गर्नुभयो। वाटर एडको सहयोगमा भूमिडाँडास्थित मूलखोलामा पनौती खानेपानी योजनाको शिलान्यास लगायत दूरसञ्चार सेवा भित्र्याउन आदिमा प्रत्यक्ष संलग्नता रहेको देखिन्छ। उपरोक्त विशिष्ट कार्यहरू पनौतीवासीले अझैसम्म सम्झिरहेका छन्। पनौती त्रिवेणीघाट उपभोक्ता समितिको अध्यक्ष तथा उक्त समितिबाट त्रिवेणीघाटमा ब्रम्हा, विष्णु, महेश्वर अंकित तीन ढुंगेधारा निर्माण तथा पनौती त्रिवेणीघाटमा रहने सन्न्यासी (जोगी)लाई नियमित सिधाको व्यवस्थामा अगुवा भई गरेको कार्यले सांस्कृतिक पक्षमा समेत योगदानको उजागर गर्छ।
तत्कालीन सामाजिक एवं राजनीतिक क्षेत्रमा लाग्नेहरूको विचार सधैं काम हुनुपर्छ, जस चाहिँदैन र नाम पनि चाहिँदैन भन्ने कुरामा केन्द्रित हुनुहुन्थ्यो उहाँ। त्यसैका कारण लिखोत कार्यमा कम प्राथमिकता दिन्थे। रेडक्रस पनौती स्थापना एवं भवन निर्माण कार्यमा प्रत्यक्ष सक्रिय संलग्नता तथा मृत्युपर्यन्त निरन्तरता रहिरह्यो। तत्कालीन श्री ५ वडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह पनौती आउनु हुँदा काभ्रेली नागरिकका तर्फबाट रेडक्रस अक्षय कोषका लागि नगद २५ हजारको थैली प्रदान गर्नु भएको थियो। उहाँले मुलुककै प्रजातान्त्रिक आन्दोलनमा पुर्याउनु भएको समर्पणलाई कदर गरेर विभिन्न सम्मान, दोसल्ला तथा पुरस्कृत गरिएको पाउँछौं। २०५७ फागुन ८ गते सहिद थीरबम मल्ल मेमोरियल फाउन्डेसनबाट राष्ट्रिय सभागृह काठमाडौंमा सम्मानपत्र, दोसल्ला तथा नगदसहित सम्माननीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट प्रजातन्त्र सेनानी सम्मान प्रदान गरिएको थियो।
२०५८ मा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकबाट प्रजातन्त्र सेनानी सम्मानपत्र पाउनुभएका उहाँले २०५६ मा नेपाल तरुण दल काभ्रेद्वारा जनआन्दोलन दिवसको उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबाट अभिनन्दन तथा सम्मान प्राप्त गर्नुभयो। २०५६ मा नेपाल रेडक्रस सोसाइटी काभ्रेद्वारा अन्तर्राष्ट्रिय वृद्ध वर्षको अवसरमा दोसल्ला ओढाई सम्मान ग्रहण गर्ने उहाँ इन्द्रेश्वर प्राथमिक विद्यालयबाट २०४३ सालमा चाँदीको शिक्षा दिवस सेवा पदकबाट पनि सम्मानित हुनुभयो। जिल्लाका वरिष्ठ व्यक्तिलाई प्रत्येक वर्ष प्रदान गरिने सिरपा स्व. रामभक्त कोख श्रेष्ठ सिरपा प्रबन्ध समितिद्वारा २०६० को नगद, दोसल्लासहित सिरपा मरणोप्ररान्त प्रदान (उक्त सम्मानमा प्राप्त रकम जेहेन्दार बालबालिकालाई प्रदान) गरिएको थियो। सामाजिक क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेबापत नेपाल रेडक्रस सोसाइटी, पनौती उपशाखा कार्यालय रेडक्रस भवन पनौतीमा स्मृतिमा फोटो राख्ने निर्णय अनुरूप फोटो राखिएको छ।
अन्त्यमा, जीवनपर्यन्त प्रजातन्त्रप्रति प्रतिबद्ध रहनुभएका द्वारिकादास कर्माचार्य १९८७ सालमा आकाशशाट धरतीमा उभिएको चम्किलो तारा अनायास २०६० असोज ३ गते फेरि आकासमै विलिन हुनुभयो। जसले अन्तिम घडीसम्ममा पनि सेवामा विश्राम लिनु भएन। यथार्थमा उहाँ समाजमा दिन आउनु भएको थियो न कि लिन। अत: हामीले उहाँले देखाउनु भएको आदर्शमय बाटोमा हिँड्नु नै उहाँमाथिको साँच्चो अर्थमा श्रद्धाञ्जली हुनेछ।