माओवादी नेतृत्वलाई सिध्याउने समय यहि हो भनेर केहि राजनीतिज्ञ लागेका छन् : प्रचण्ड
अहिले पनि संक्रमणकालीन न्यायको विषय टुंग्याउन कठिन हुनुमा राजनीति नै कारक रहेको उनको दाबी छ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै एकताबद्ध बनेर शान्ति प्रक्रिया टुंगो पुर्याउनुपर्ने बताएका छन्। काठमाडौंमा आज शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवालको विषायक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऐन बनेपछि संक्रमणकालीन न्यायको विषय अगाडि बढ्ने आफूले सोचे पनि अवरोध भएको टिप्पणी गरेका हुन्।
अहिले पनि संक्रमणकालीन न्यायको विषय टुंग्याउन कठिन हुनुमा राजनीति नै कारक रहेको उनको भनाई छ। उनले सडक र सदनबाट दबाब नदिए राज्य र राजनीतिक नेतृत्वलाई अब त बर्बाद भयो भन्ने नबनाएसम्म शान्ति प्रक्रिया टुंगोमा नपुग्ने धारणा राखेका हुन्।
प्रचण्डले बाह्र बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने धारणा राखे।
पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘१२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता आफैँमा राजनीतिक दस्तावेज हुन्, ती सम्झौताहरु सबै संविधानको अगंको रुपमा मानिएको छ। १२ बुँदे समझदारी र शान्ति प्रक्रिया राजनीतिक सहमति भएको हो। किनभने, राज्यपक्ष र विद्रोही पक्षबाट हजारौंको बलिदान भयो सहमति गरेर शान्ति सम्झौता भएको हो।’
प्रचण्डले माओवादी नेतृत्वलाई तह लगाउने र सिध्याउने अन्तिम हतियार रुपमा संक्रमणकालीन न्यायको विषयलाई लिने गरिएको आरोप लगाए। ‘माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ ? गरौंला भन्ने सोच र प्रवृत्तिका राजनीतिक मान्छे पनि छन्। यो कुरा आवेग र सेन्टिमेट पनि होइन, एउटा राजनीतिक प्रवृत्ति यस्तो छ, टुंगिन लागेको बेला रोक्छ त्यसले। माओवादी नेतृत्वलाई तह लगाउने, ठिक लगाउने र सिध्याउने अन्तिम हतियार यही हो, टुंग्याउन हुन्न भन्ने प्रवृत्ति छ।’
उनले राष्ट्रिय सहमतिमार्फत पीडितको माग सम्बोधन र मुलुकका समस्या समाधान गर्नुपर्ने तर्क गरे।