काठमाडौं : चाकु, लड्डु र घिउको पर्व माघे संक्रान्ति आउन ५ दिन बाँकी छ। तर, काठमाडौंको टोखा, ललितपुरको टंगाल लगायतका स्थानमा रहेका चाकु कारखानामा भने लामो समयदेखि कामदारलाई भ्याई नभ्याई छ। अहिले चाकुको बास्नाले शहर मगमगाउन थालेको छ।
चाकु बनाउनका लागि उनीहरुले तराईंका विभिन्न स्थानबाट सख्खर ल्याउने गर्छन्। यति बेला काठमाडौं उपत्यकामा खोलिएका चाकु कारखानाका कामदार र उद्योगी चाकु बनाउन र प्याकिङ गरेर बजार पठाउन व्यस्त देखिन्छन्।
५५ वर्षीय कृष्ण महर्जन माघे संक्रान्तिको तयारीका लागि आफ्नो आँगनमा चाकु बनाउन व्यस्त छन्। महर्जनले दशकदेखि यो परम्परागत अभ्यासले संस्कृति र परम्परा जोगाउन मद्दत पुर्याएको छ। महर्जनले भने, ‘आजकल धेरै मानिसहरूले यो आफ्नै हातले बनाउन समय निकाल्न सक्दैनन्, किनकी यस्ता परिकारहरू तयार गर्न धैर्य र सीप लाग्दछ।’
नेवारी भाषामा ‘टु’को अर्थ उखु, ‘ख्यः’को अर्थ ‘फल्ने ठाउँ’हो। टोखा उखु खेती हुने ठाउँका रुपमा चिनिन्छ। परम्परागत समयदेखि उखुबाट चाकु उत्पादन गरिने टोखामा उक्त व्यवसायलाई अहिलेसम्म पनि निरन्तरता दिइँदै आएको छ।
उत्पादन भएको चाकु काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्री हुँदै आएको छ।
माघ १ गते चाकु खाने प्रचलन छ। चाकु चिसो लागेका बेला पनि खाने चलन छ। चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ। यस्तै माघे सङ्क्रान्तिमा चाकुबाहेक सख्खर, तरुललगायतका खानेकुरा समेत खाने प्रचलन रहेको छ।
तस्बिर : अभिषेक महर्जन