४ सुत्रीय माग राख्दै नगर बरघरद्वारा ज्ञापनपत्र
गुलरिया : बर्दियाको मधुवन नगरपालिकामा रहेको नगर बरघर समितिले नगरप्रमुख समक्ष ज्ञापन पत्र बुझाएका छन्। विभिन्न ४ सुत्रीय माग राख्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन्।
नेपालको संविधानको धारा २२१, २२६ तथा अनुसूची ८ ले प्रदान गरेको अधिकारका साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकारहरू आदिवासी थारूहरूले पालिकामा प्राप्त गर्न नसकेकाले बरघर ऐनमा उल्लेखित अधिकार र निर्दिष्ट कानुन कार्यान्वयन गर्न बरघर समिति मधुवनले माग गरेको छ।
समितिका अध्यक्ष फुलराम थारू तथा सचिव जयराम थारूको संयुक्त हस्ताक्षरमा बुझाइएको ज्ञापन पत्रमा बरघर ऐन २०७७ लागू गर्नुपर्ने, उचित बजेट विनियोजन गरिनुपर्ने, परम्परागत प्रथाको समानान्तर कुनै समिति वा संस्था गठन गर्न रोक लगाउनुपर्ने र नगर परिषदमा पेस गरेको प्रस्तावनाको सुनुवाई गरिनुपर्ने माग छ।
बर्दिया जिल्लाको जनसंख्यामध्ये ५३ प्रतिशत बहुमत थारू जाति रहेपनि राज्यसत्ताको हेपाहा प्रवृत्तिका कारण आर्थिक सामाजिक राजनीतिक रूपमा पछाडि परेको विज्ञप्तिमा उल्लेख गरिएको छ। मधुवन नगरपालिकामा ४३ प्रतिशत थारू जातिको बसोबास रहेकाले थारू संस्कृति परम्परा जोगाउन सबैको दायित्व रहने बताइएको छ।
मधुवन नगरपालिकाले २०७७ सालमा बरघर ऐन पारित गरी राजपत्रमा समेत प्रकाशित गरेको छ। बरघरहरूको ज्ञापन पत्र बुझ्दै मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले पालिकामा बरघर ऐन लागू भइसकेकोले विस्तारै कार्यान्वयन गर्दै लैजाने प्रकृयामा पालिका रहेको बताए। आगामी वर्षदेखि ऐनमा उल्लेखित बजेट लगायतका विषय बस्तुहरूलाई क्रमशः सम्बोधन गर्ने उनको भनाइ छ।