ऐतिहासिक डबली मेलामा खुलेआम ‘जुवा’को खाल
भोजपुर : हरेक वर्षको पुष र माघ महिनामा आयोजना हुँदै आएको स्थानीय भोजपुर डबली मेलामा सट्टेबाजी खेलको विकृति बढेको छ। डबली मेलाको नाममा मेला भर्नेभन्दा पनि बढि सट्टेबाजी (डाइस)मा ठूलो मात्रामा पैसाको चलखेल हुने गरेको छ।
भोजपुर सदरमुकामको स्थानीय टुँडीखेलमा चलिरहेको उक्त डबली मेलामा दैनिक लाखौंको हानथाप हुने उक्त सट्टेबाजीको खेल चलिरहँदा पनि स्थानीय प्रशासनले बेवास्ता गर्दै आएको छ। ऐतिहासिक डबली मेलाको मौलिकता, महत्त्व र पहिचान विपरीत खुलेआम खेलाइने सट्टेबाजी खेललाई नियमन गर्न प्रशासन नै उदासीन छ।
सार्वजनिक रूपमै लाखौं धनराशिको सट्टेबाजी भइरहेको उक्त विकृति नियन्त्रण गर्ने कुनै पनि नियमनकारी निकायहरू मौन बनेको सरोकारवालाहरू बताउँछन्। सार्वजनिक रूपमा खेलाइने सट्टेबाजी नियमनका लागि मेला आयोजकहरूकै कमजोरी रहेको उनीहरू सुनाउँछन्। ‘डबली मेला भन्यो, डाइस खेलायो, दुनियाँ सर्वसाधरणलाई प्रलोभन देखायो, पैसा लुट्नबाहेक केही जानेन,’ स्थानीय शरण राईले भने।
ऐतिहासिक डबली मेलाले परिचित भोजपुरको आफ्नै साख छ। झण्डै ५ दशक पहिले सुरु भएको भोजपुर डबली मेलामा मानिसहरू रातभर दोहोरी (गाउँले भाकाको जुहारी) गाउने, नाँच्ने, स्थानीय अर्गानिक उत्पादन, कृषिमेला, राडिपाखी, मादल, खुकुरी जस्ता स्थानीय सामाग्री, विभिन्न जातीय तथा साँस्कृतिक महत्व झल्काउने पहिरन, खानाका स्टलहरु प्रदर्शन हुने गथ्र्यो । टाढा टाढाबाट मानिसहरु पैदलै हिँडेर सदरमुकाम आउने गर्दथे। तरऽ पछिल्ला वर्षहरूमा भने डबली मेलाको पहिचान जोगाउनेभन्दा पनि विकृतितिर धकेलिरहेको सर्वसाधरण सुनाउँछन्।
‘भोजपुरको डबलीले ख्याती कमाएको ठाउँ हो यो, यसको आफ्नै मौलिक पहिचान छ, तर आजकल मेलाको नाममा सार्वजनिक रूपमै मनपरी सट्टेबाजी खेल हुन्छ,’ दिक्पाल राईले थपे, ‘यस्तो जुवाखाल खेलाएर हाम्रो डबली मेलाको पहिचान जोगिन्छ र? हाम्रा स्थानीय पहिचान र मौलिकपन खै त?’
अहिले उक्त डबली मेलामा कहिलेकाँही देखाइने छिटफुटका केही सांस्कृतिक कार्यक्रम, साना केटाकेटी खेल्ने खेल र रोटेपिङबाहेक मेलाका अधिकांश स्थानमा लङ्गुरबुर्जासहितका साना सट्टेबाजीका खेलहरु खेलाइएका छन्। विकृतिपूर्ण जुवाखेललाई नियमन गर्न सुझाव दिइएको र सुझावको बेवास्ता गरे दोषीलाई कडा काराबाही पनि गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरको डिएसपी युवराज तिमल्सिनाले बताए। भने, ‘हामी सट्टेबाजीका सबै खेल बन्द गर्न निर्देशन दिएका छौं। अटेरी गरे हामी खेल खेलाउनेहरुलाई कानुनी कारबाही गर्नेछौं।’
ठुलो धनराशीमा रकम कुम्ल्याउने प्रलोभनले मेला भर्न आउने सोझा सर्वसाधरणहरुको सट्टेबाजी खेलबाट दैनिक १ लाखदेखि १० लाखसम्मको हानथाप हुने गरेको खुलेको छ।