एमाले बैठकको सन्देश
वर्तमान सरकार निर्माणपछि सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय कमिटीको आठौं बैठक सम्पन्न भएको छ। तीन दिन चलेको बैठकका सहभागी सदस्यहरूले मुलुकको वर्तमान राजनीतिक अवस्थाको शल्यक्रिया हुने गरी छलफल गरेका छन्। एमालेमा छलफल, बहस हुँदैन भन्ने भाष्यको आठौं बैठकले सबैलाई सुन्ने गरी मात्र होइन देख्ने गरी गतिलो जवाफ दिएको छ। एमाले जनवादी केन्द्रीयतासहितको लोकतान्त्रिक कम्युनिस्ट पार्टी हो। एमालेका विगतका बैठकमा पनि समूह विभाजन गरी छलफल, बहस, अन्तरक्रिया खुल्लमखुल्ला हुन्थ्यो। त्यो नदेख्ने स्थायी आलोचकहरूका निम्ति यो बैठकले के दियो ? त्यो हेर्न बाकी छ। तर एमालेजनका निम्ति सधैं झै यो पटकको बैठकले पनि उत्साह दिएको छ। बैठकले गर्नुपर्ने आवश्यक छलफल गरेको छ। र बैठकमा हुनपर्ने निर्णय सर्वसम्मत पास भएका छन्।
मुलुकमा केही भएको छैन र केही हुँदैन, कसैले केही गर्न सक्दैन भन्ने भाष्यको उद्योग खोलेर बसेको एकखाले जमातको विषयमा बैठकमा गम्भीर समीक्षा भएको छ। त्यसमा विशेषगरी नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँका नाममा आएकाहरूको मिथ्या, दुराशययुक्त र झुटा अफवाहको मुलुक क्रीडास्थल बनेको छ। देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको, नया संविधान लागू भएको र एक दशक लामो चलेको हिंसाको अन्त्य भएको कुरा ओझेलमा पारिँदै छ। गर्न धेरै बाँकी छ तर केही भएको छैन भन्दै निराशाको खेती गर्नेहरूको जमात सुनियोजित तयार पारिँदै छ। र, देशलाई अस्थिरताको भुँमरीमा धकेल्ने प्रयास हँुदै छ। देश पहिलो हो देशका अगाडि सबै स्वार्थ गौण हुन। देशको रक्षा र जनताको हितका निम्ति राजनीति सहकार्य वर्तमान परिस्थितिको माग भएको कुरा आठौं बैठकले स्वागत गरेको छ। एमाले र नेपाली कांगे्र्रसको सत्ता सहकार्यलाई देशको रक्षा एवं जनताको हितका निम्ति थप बलियो र भरपर्दो बनाएर लिनुपर्छ ।
राजनीतिक संक्रमणकालको अन्त्य छिटो गर्नुपर्ने अहिलेको आम आवाज छ।
शान्ति, सुव्यवस्था, सामाजिक न्याय र लोकतन्त्र केही सीमित जमातको भीडमा हराउने खतरा उत्पन्न भएको छ। स्थापित राजनीतिक दल र दलका नेताहरू माथि अस्वाभाविक प्रश्नहरूले सामाजिक सञ्जाल रंग्याउने र समाजमा द्वैष पैदा गर्ने तŒवहरूको विरुद्ध संगठित भएर राजनीतिक लाग्नै पर्ने देखिन्छ। सुदृढ राजनीतिक शक्तिले मात्र गलत सोच मान्यता र उद्देश्य बोकेका तŒवहरूको प्रतिकार गर्न सक्छ। गलत सोच र उद्देश्य भएकाहरूको पहिचान समाजले जति छिटो थाहा पाउछ, समाजले त्यति कम क्षतिको सामना गनुपर्ने हुन्छ। यी सबै यथार्थ र सत्यलाई एमालेले आत्मसात् गर्दै पार्टी पंक्तिलाई जनताको सेवामा समर्पित गर्ने आठौं बैठकले एक स्वरका साथ अनुभूति गरेको छ।
संसारमा रहेका जुनसुकै पार्टी किन नहुन तिनीहरूको निश्चित राजनीतिक, आर्थिक र दार्शनिक उद्देश्य रहेको हुन्छ। जसको उद्देश्य हुँदैन ती पार्टी हुँदैन र कालान्तरमा लोप भएर जान्छन्। नेपालमा पनि त्यस्ता धेरै पार्टीहरू इतिहासको पानामा पढ्न पाइन्छन् जो अहिले छैनन्। पार्टीको निश्चित उद्देश्य र लक्ष्य भएन र त्यसअनुसार चलेन भने पार्टी कुनै पार्कको भीड जस्तो हुन्छ र जनताको हित गर्न सक्ने पार्टी हुन सक्दैन। अहिले नेपालमा कुनै उद्देश्य र ध्येय नभएका जमातको भीडले पार्टीको नाममा जनभावनाको दोहन गरिरहेको देखिन्छ। पार्टीको आकार नलिँदै उत्पात मचाउनेहरू भोलि सत्तामा पुगे भने यिनीहरूले देशको हालत के गर्लान् यो आजको समाजलाई बुझाउन जरुरी देखिन्छ। राज्य सत्ता बदल्ने नाममा सुरु भएको जनयुद्ध नामको सशस्त्र विद्रोहले त नेपालमा हावा खाएको अवस्था हाम्रासामु छ भने जातीय, क्षेत्रीय र कुण्ठाको उपजबाट निर्माण भएका पार्टीहरू कसरी देशको नेतृत्व गर्न सक्छन् ? यो असम्भव कुरा हो, यो भ्रम हो । यसलाई एमालेजस्तो लामो राजनीतिक विरासत बोकेको पार्टीले च्यात्नै पर्छ ।
पछिल्ला केही वर्षयता देशमा सत्यभन्दा पनि असत्य, सहीभन्दा गलत हाबी हँुदै आइरहेको छ। प्रमाण नचाहिने, तथ्य के हो ? त्यो नचाहिने भएको छ। मनमा लागेको कुरा भन्दिए हुने कुसंस्कारले विकराल रूप लिँदैछ। यसले समाजलाई सरल होइन झन् जटिल बनाउँदै छ। देशमा एक खालको अराजकता हाबी हुँदै आएको छ। कुनै बेला पार्टीको शीर्ष स्थानमा बसेर पार्टीको नाममा डकार आउने गरी लाभ लिएकाहरू पार्टीलाई चाहिँदाको भाँडो नचाहिँदाको ठाडो बनाएर हिँडेका छन्। यो प्रवृत्तिले पनि समाजलाई अराजक बनाउन मद्दत गरेको हो। पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम हुँदै त्यो अराजकता भीम रावलसमेतमा देखिएको छ। जसले पार्टीमा काम गरेबापत ब्याजसमेत असुली गरेका छन्। र जीवनमा कहिल्यै लाभको पदबाहेक अर्को ठाउँमा बस्नु परेन। आज ती व्यक्ति नै एमालेका निम्ति खतरा बनेर हिँडिरहेका छन्। यो वर्तमानको यथार्थलाई स्वीकार्दै नेकपा एमाले पंक्तिले थप सुदृढ भएर लाग्नुपर्ने हुन्छ। र, समाजलाई समृद्धिको अभियानमा जुट्नुपर्ने हुन्छ।
नेकपा एमाले नेपालको सबैभन्दा धेरै लोकप्रिय राजनीतिक दल हो। यसले विगतमा सम्पन्न भएका निर्वाचनमा जनताले आफ्नो मत अभिमतबाट पास गर्दै आएका छन्। एमाले जनताको बीच सर्वाधिक लोकप्रिय भएकाले र यसले अवसर पाएको बेला जनताको पक्षमा काम गरेकाले यसलाई विरोधीहरूको घेराबन्दी हँुदै आएको थियो र अहिले पनि छ। किनकि एमालेले देशको रक्षा गर्छ, समृद्ध नेपाल, सुखी नेपालीको कुरा गर्छ। र अवसर पाएको खण्डमा जनतालाई अनुभूति हुने काम गर्छ। एमाले र एमालेकै नेतृत्वको दृढ अडानका कारण २०७२ सालमा संविधान जारी भएको हो। एमालेकै कारण देशमा पृथकतावादीहरूको आवाज कमजोर भएको हो। एमालेकै कारण देशमा सुरुंग र रेल युगमा प्रवेश सम्भव भएको हो। आजको विश्वमा नेपालको शिर उच्चा गर्न एमालेको पंक्ति देश विकासको सारथि बन्दै देशलाई विकासको लयमा लिने रामवाण हुनुपर्ने जरुरी छ।