गैँडाको खाग र लागू औषधसहित एक भारतीय नागरिक पक्राउ
झापा : झापाको काँकडभिट्टामा गैँडाको खाग र लागू औषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल उत्तर मेन्दाबारीका नारायण रामधाम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा बुधबार दिउँसो साढे ३ मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित हिमालय गेस्ट हाउसको कोठा नम्बर १०२ मा बसेका रामधामको कोठा खानतलासी गरेका थिए ।
त्यस क्रममा इन्टेक्स लेखिएको काटुनभित्र १ केजी ७०० ग्राम तौल भएको गैँडाको खाग, प्लास्टिकसहित ३ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर, पाइइभोन स्पास प्लस लेखिएको ट्याब्लेट १८ पत्ता, डिजिटल तराजु र मोबाइल १ थान फेला परेको थियो । त्यसपछि उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।