ठगी आरोपमा एमाले नेता अनिल पोखरेल पक्राउ
विराटनगर : मोरङका एमाले नेता अनिल पोखरेल पक्राउ परेका छन्। मोरङको रंगेली नगरपालिका- २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय पोखरेलले एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन्।
मोरङ जिल्ला कमिटीका सदस्यसमेत रहेका उनले एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ।
आज बिहान पक्राउ परेका पोखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
ठगीको घटना सार्वजनिक भएपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिवबाट हटाइएका थिए। सहकारी ठगी आरोपमा फरार रहेकी ऋषिकेश पोखरेल पत्नी अन्जला कोइराला बुधबार अदालतमा हाजिर भएकी थिइन् । बुधबार नै उनी जिल्ला अदालत मोरङको आदेशपछि १० लाख धरौटी बुझाएर छुटेकी थिइन्।