धरौटीमा छुट्लान् त प्रतिवादी ?
रविविरुद्धको मुद्दामा थुनछेक आदेश आउने सम्भावना, अदालत परिसरको सुरक्षा कडा पारियो
सूर्यदर्शन सहकारी ठगी प्रकरण
पोखरा : पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलगायत सातजनाविरुद्धको मुद्दामा आज थुकछेक आदेश आउने संभावना छ।
कास्की जिल्ला अदालतमा बुधबार प्रतिवादी तर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि आज सरकारी वकिलको जवाफी बहस भइरहेको छ। न्यायाधीश नीतिज राईको इजलासमा बहस जारी छ। बहस सकिएपछि आजै थुनछेक आदेश आउने संभावना रहेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन्।
लामिछानेको मुद्दामा फैसला सार्वजनिक गर्ने तयारीसँगै कास्की जिल्ला अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ। भीडभाड गर्न पनि रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमलाई टार्न अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको हो।
बुधबार अदालतमा प्रतिवादी तर्फका कानुन व्यवसायीहरूको बहस जारी रहेका बेला रास्वपाका कार्यकर्ताहरूले बाहिर विरोध प्रदर्शन गरेका थिए। आज फैसला आउने संभावना भएपछि रास्वपाका कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहने भएकाले बिहानैदेखि सुरक्षा व्यवस्थामा कडाइ पारिएको हो।
यसअघि पनि लामिछानेलाई म्याद थपका लागि अदालत लैजाने क्रममा रास्वपाका कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए। सोही क्रममा भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको थियो।
सहकारीको रकम अपचलनको आरोप लागेका लामिछानेलाई अनुसन्धानका लागि लगिएका प्राय सबै ठाउँमा विरोध प्रदर्शन भएको थियो। अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं,चितवन,बुटवल र पर्सा पुर्याइएको थियो। ती सबै ठाउँमा रास्वपाका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए।
अहिले जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेसहित सातजना प्रतिवादीको बहस जारी छ। सहकारी ठगीका आरोपित लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी,लिला पछाई,रामबहादुर खनाल,मीना गुरूङ ,कृष्णबहादुर गुरुङ र आरती गुरूङविरुद्ध थुनछेक बहस जारी रहेको हो।
थुनछेक बहसपछि लामिछानेलगायत सहकारी ठगीका आरोपितलाई पुर्पक्षका लागि थुनामै राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।
लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय,कास्कीले लामिछानेसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।
सहकारीको बचत रकम उपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै जोशी,पछाई, गुरूङ र खनालविरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको छ।