वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन निर्देशन
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले नेपाल वायुसेवाको विमान सञ्चालन र व्यवस्थापनामा कमजोरी रहेकै कारण घाटामा गएको समेत बताए।
काठमाडौं : संसदीय समितिले वायुसेवा निगमको व्यवसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकले नेपाल वायुसेवा निगमको व्यवसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याई सोको प्रगति समितिमा पेश गर्न निर्देशन दिएको हो।
त्यस्तै बैठकले भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरुबीच सम्झौता, समन्वय एवं पहलकदमी लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ भने निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन निर्देशन दिइएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए।
बैठकले पर्यटन मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयन योग्य कार्ययोजना यथाशिघ्र निर्माण गरि समितिलाई जानकारी गराउन समेत निर्देशन दिएको सभापति यादवले बताए।
बैठकले भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरुबीच सम्झौता, समन्वय एवं पहलकदमी लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।
बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखि काम गरेको बताए। उनले नेपाल वायुसेवाको विमान सञ्चालन र व्यवस्थापनामा कमजोरी रहेकै कारण घाटामा गएको समेत बताए। नेपाल एयरलाइन्सले समयै विमान उड्छ भन्ने सन्देश दिएको अवस्थामा पहाडि विमानस्थलमा समेत यात्रुको कमी नहुने प्रष्ट पारे।
समिति बैठकले देशका विभिन्न जिल्लाम रहेका निगमको स्वामित्वमा रहेका जग्गा तथा भौतिक संशोधनहरुको उपयोग योजना निर्माण गरि यथाशीघ्र कार्यान्वयन गरि सोको जानकारी उपलव्ध गराउन निर्देशन दिएको छ भने निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरि एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न समिति सदस्य शिशिर खनालको संयोजकत्वमा नेपाल वायुसेवा निगम अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको छ।