बीपी राजमार्ग पुनर्निर्माण तत्काल थाल्न सांसद दाहालको माग
सिन्धुली : सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर दुईका सांसद राजन दाहालले बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गको पुनर्निर्माण तत्काल थाल्न माग गरेका छन्।
बिहिबार सिन्धुलीमाढीमा संचारकर्मीहरुसँगको भेटघाटमा सांसद दाहालले राजमार्गको खुर्कोट–नेपालथोक र नेपालथोक–भकुण्डेवेशी खण्ड तत्काल पुनर्निर्माण थाल्न सरकारसँग माग गरेका हुन्।
उक्त राजमार्गको गत असोसमा रोशी र सुनकोसी नदिमा आएको बाढी र पहिरोले बगाउँदा झण्डै १२ किलोमिटर सडक ध्वस्त भएको छ।
राजमार्गको नेपालथोक–भकुण्डेवेशी खण्डमा रोसीलाई तर्काएर अस्थायी ट्रयाकमार्फत सवारी साधन सञ्चालन हुँदै आए पनि त्यसको पुनर्निर्माणमा सरकारले बजेटको सुनिश्चितता गर्न नसक्दा ढिलाई भएको भन्दै सांसद दाहालले बजेटको स्रोत सुनिश्चित गर्दै निर्माण थाल्न माग गरेका हुन्।
सो सडक पुनर्निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लागत लाग्ने प्राविधिक अध्ययनले देखाएको छ। पूर्वी नेपाल तथा मध्य तराईबाट संघीय राजधानी काठमाडौं आवतजावत गर्ने सबैभन्दा छोटोरी बीपी राजमार्गमा दैनिक दश हजार बढी साना ठूला सवारी सञ्चालन हुने गरेका छन्।
तर क्षति भएको चार महिना बितिसक्दा समेत राजमार्गको पुनर्निर्माणमा ढिलाइ हुँदा आगामी वर्षातमा राजमार्ग पुरै बन्द हुने अवस्था आएकोले तत्काल पुनर्निनिर्माण र पुनर्निर्माण नसकिदासम्मका लागि स्थायी डाइभर्सन बनाउनु पर्ने दाहालको भनाई छ।
यसका लागि आफूले प्राधनामन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव, डिजी लगायतसँग परामर्श गरेको सांसद दाहालको भनाइ छ।
राजमार्ग पुनर्निर्माणका लागि आवश्यक पर्ने प्राविधिक अध्ययन तथा स्टमेट सबै तयार भइसक्यो। ‘यो पुनर्निर्माणमा करिब १० अर्ब रुपैयाँ लागत लाग्ने स्टमेट छ। यो सबै बजेट सुनिश्चित गर्न तत्काल सम्भावना नभएर पनि हाल कम्तीमा ५० करोड रुपैयाँ मात्रको सुनिश्चित गर्ने हो भने टेण्डर प्रक्रिया सुरु हुने र स्थायी ट्रयाक निर्माण सँगै पुनर्निर्माण सुरु गर्न सकिन्छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रीज्यूहरूले अलि तदारुकता देखाउनु पर्यो,’ उनले भने।
सांसद दाहालका अनुसार यसै वर्ष काम सुरु गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट प्रयोग गर्न सकिने छ।
क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण गर्न अध्ययनअनुसार लाग्ने लागतको स्रोत सुनिश्चित भएको छैन। बजेटको स्रोत सुनिश्चित नहुँदा राजमार्ग पुनर्निर्माणका लागि सडक विभागले टेण्डर आह्वान गर्न सकेको छैन।
अब पनि राजमार्गको पुनर्निर्माणमा ढिलाइ गर्ने हो भने आगामी बर्खामा राजमार्ग ठप्प नै हुने भन्दै चिन्ता उनले व्यक्त गरे। बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडकमा पूर्ण रूपमा क्षति पुगेको थियो। यस्तै सिन्धुलीको नेपालथोकदेखि आँपघारीसम्म सडक क्षति भएको छ।
राजमार्गको भत्किएको खण्ड पुनर्निर्माणका विषयमा जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गत कात्तिक दोस्रो साता अध्ययन गरेको थियो। तर, उसले समेत राजमार्ग पुनर्निर्माणमा सहयोग गर्ने वा नगर्ने कुनै प्रतिक्रिया दिएको छैन।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जाइकासँग उक्त सडकखण्ड पुनर्निर्माणका लागि सहयोगको प्रस्ताव गरिसकेको र जाइकाको प्रतिवेदन र जवाफको पर्खाइमा रहेको जनाउँदै आएको छ।
बाढी र पहिरोबाट अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण अहिले साँझ छ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ।
जापान सरकारको अनुदान सहयोगमा २०५२/५३ सालबाट निर्माण थालिएको राजमार्गको १ सय ६० किलोमिटर सडक २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। जाइकाले उक्त राजमार्ग निर्माण गर्दा प्रतिकिमी ३५ करोड लागत भएको जनाए पनि यसपटक पुनर्निर्माणमा प्रतिकिलोमिटर एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।