मोरङको मालती पुलमा फेला परेकामध्ये एउटा सिलिन्डर बम डिस्पोज
विराटनगर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका-७ मालती पुलनजिकै फेला परेकामध्ये एउटा सिलिन्डर बम डिस्पोज गरिएको छ। नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको हो। बाँकी तीनवटा बम क्रमशः डिस्पोज गरिने छ।
बम रहेको हल्ला चलेपछि खोजीका लागि पूर्वपश्चिम राजमार्ग खण्डमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो।
खोजतलासका क्रममा मालती पुलबाट क्रिब १० मिटर पश्चिममा सुरुङ खनेर राखिएको अवस्थामा बिहीबार दिउँसो ४ वटा सिलिन्डर बम फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
उनका अनुसार माओवादी द्वन्द्वकालमै बम राखिएको सूचना आएको थियो। सूचनालगत्तै पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब २ किलोमिटर सडकमा सवारी आवागमनमा रोक लगाइएको थियो।
बिहीबार बिहान ८ बजेदेखि सवारीसाधन डाईभर्ट गरिएको र घटनास्थल वरपर आवतजावतमा रोक लगाएको जोशीले बताए। जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहैंचा-७ को मालती पुल आसपासमा द्वन्द्वकालको बम रहेको सूचना आएको थियो।
राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै माओवादीकै केही नेताले स्थानीय प्रशासनलाई सूचना दिएको स्रोतले बतायो।