द्वन्द्वकालीन सिलिन्डर बम सेनाद्वारा डिस्पोज
विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मालती पुलनजिकै फेला परेको द्वन्द्वकालीन सिलिन्डर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहीबार डिस्पोज गरेको छ। पूर्व–पश्चिम राजमार्गमा फेला परेको २ वटा सिलिन्डर बम सेनाको टोलीले बिहीबार साँझसम्म लगाएर डिस्पोज गरेको हो।
बम रहेको जानकारी आएलगत्तै खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो। मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले खोजतलास गर्दा मालती पुलबाट करिब १० मिटर पश्चिममा सुरुङ खनेर राखिएको ४ वटा सिलिन्डर बिहीबार दिउँसो फेला परेको बताए।
उनका अनुसार सुन्दरहरैँचा–७ को मालती पुल आसपासमा द्वन्द्वकालको बम रहेको सूचना जिल्ला प्रशासन कार्यालय मोरङमा आएको थियो। पूर्व–पश्चिम राजमार्गको गोठगाउँदेखि बेलगाछीसम्मको करिब २ किलोमिटर सडकमा बिहीबार बिहान ८ बजेदेखि सवारीसाधन आवागमन तथा मानिसलाई आवतजावतमा रोक लगाएर संयुक्त सुरक्षा फौजले ‘सर्च’ गरेको थियो।
एसपी चिमरियाले ‘सर्च’ गर्ने क्रममा बम फेला परेको बताए। ‘सशस्त्र द्वन्द्वका क्रममा माओवादीले बम राखेको जानकारी आएको थियो। खोजी गर्ने क्रममा फेला पर्यो। बम द्वन्द्वकालकै हो,’ उनले भने। बम डिस्पोजका लागि सवारीसाधनलाई ‘डाईभर्ट’ गरिएको थियो भने घटनास्थल वरपर आवतजावतमा रोक लगाइएको थियो।
पूर्व–पश्चिम राजमार्ग (एसियन हाई–वे) विस्तार एवं स्तरोन्नतिको काम भइरहेको छ। राजमार्ग विस्तारको क्रममा उत्खनन् गर्दा पड्किनसक्ने जोखिम रहेको भन्दै बमका बारेमा माओवादीकै कार्यकर्ताले स्थानीय प्रशासनलाई सूचना दिएको स्रोतले बतायो। प्रहरीका अनुसार ४ वटामध्ये २ वटा सिलिन्डर बम र २ वटा ग्यास भरिएको सिलिन्डर रहेको पत्ता लागेको छ।
‘विस्फोटक पदार्थ भरेर बम बनाइएको अवस्थामा २ वटा र ग्यास मात्रै भरिएको २ वटा सिलिन्डर फेला परेको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘राजमार्गको दक्षिणतर्फ सुरुङ खनेर राखिएको बम द्वन्द्वकालीन नै हो।’ विस्फोटक पदार्थ भरिएको २ वटा सिलिन्डर बम भने सेनाको टोलीले डिस्पोज गरेको हो।
ग्यास भरिएका २ वटा सिलिन्डरलाई थप बुझ्नका लागि भन्दै सेनाले लिएर गएको छ। बम डिस्पोजपछि साँझ ५ः३० बजेबाट राजमार्ग सुचारु भएको प्रहरीले जनाएको छ। राजमार्गको २ किलोमिटरजति खण्डमा दिनभर यातायात अवरुद्ध भएको थियो।
बम डिस्पोज गरिसकेपछि राजमार्ग सुचारु भएको हो। साँझबाट यातायातका साधन नियमित रूपमा गुड्न थालेको एसपी चिमरियाले जानकारी दिए। यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।