२६ वर्षपछि हत्याका अभियुक्त पक्राउ
नुवाकोट : हत्या गरेर फरार रहेका अभियुक्त २६ वर्षपछि पक्राउ परेका छन्। गत २०५५ साल वैशाख २० गते नुवाकोटकै साबिक कल्याणपुर गाविस-७ देउडी सुकुम्वासी हाल विदुर नगरपालिका-१३ का ५३ वर्षीय लक्ष्मण तामाङलाई हत्या गरी फरार रहेका साबिक गोर्स्याङ गाविस-३ हाल तारकेश्वर गापा ५ काभ्रेगाँउका छेप्पा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
उच्च अदालत पाटनको गत २०५७ माघ ९ गतेको फैसलाले दोषी ठहर गर्नुका साथै कसुर बमोजिम २० वर्ष कैद सजाय भएकोमा उनी फरार रहेकोमा प्रहरी चौकी दाङसिङबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले खोजी गर्दै जाँदा तारकेश्वर गापा ५ निग्लेनीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका तामाङलाई नुवाकोट जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले उनको कैद भुक्तानका लागि कारागार कार्यालय नुवाकोटमा पठाउने आदेश भएकोमा नुवाकोट कारागार पठाइएको हो।
२०५५ वैशाख २० गते लक्ष्मणको हत्या गरी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका छेप्पालाई उच्च अदालत पाटनले २० वर्ष जन्म कैद फैसला सुनाएको थियो। तर, उनी फरार रहेका थिए।