किसानको साथी, उपभोक्ताको रोजाइ ‘मेरो किसान’

किसानको साथी, उपभोक्ताको रोजाइ ‘मेरो किसान’

काठमाडौं : पछिल्लो समय विश्वभर ई–कमर्स कम्पनीहरू उदाइरहेका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी आदिजस्ता क्षेत्रहरूमा ई–कमर्स उदाइरहँदा कृषिमा पनि नहुने कुरै भएन।

अझ कोरोनाको समयमा भएको लकडाउनले ई– कमर्समा यति तीव्रता थपिदियो कि उल्लेखनीय संख्यामा ई–कमर्स कम्पनीहरू स्थापना भए। यी सबै कम्पनीहरूले सानोभन्दा सानो अभावलाई सम्बोधन गर्न खोज्दै आफूलाई सूक्ष्म रूपमा भए पनि पृथक देखाउने प्रयास गरिरहेका छन्। यसै मध्येको एक हो,– ‘मेरो किसान’ लिडिटेड। जसले २०७६ सालदेखि किसान र उपभोक्तालाई जोड्ने काम गर्दै आइरहेको छ।

के हो मेरो किसान एप ? 

यो एउटा यस्तो प्लाटफर्म हो जहाँ किसानले आफ्ना उत्पादन बिक्रीस्थलका रूपमा प्रयोग गर्न सक्छन् भने उपभोक्ताले आफूलाई चाहिएको सामान यहाँबाट किन्न सक्छन्। जहाँ किसान र उपभोक्ताले कुनै पनि बिचौलियाको फन्दामा नपरी आफ्नो उत्पादनको मूल्यसूची हेर्न सक्छन् र उपयोग गर्न सक्छन्। 

कसरी स्थापना भयो ?       

२०७६ सालमा कोभिड–१९ महामारी सुरु हुँदा गोरखाका अविनाश सिलवाल कृषि अर्थशास्त्रमा स्नातकोत्तर गर्दै थिए। काठमाडौंको गोल्डेन गेट कलेजमा पढ्दै गर्दा उनले नेपालको खाद्यान्नको आयात र निर्यातको तथ्यांकहरू सबै केलाएर हेरिसकेका थिए। त्यहाँ उनले बिचौलियाले कसरी किसान र उपभोक्ता ठगिरहेका हुन्छ र सबै परिवर्तन हुँदा पनि कृषि क्षेत्रमा भने परिवर्तन हुन नसक्दा किसानहरूलाई परेका समस्यालाई राम्रोसँग नियालेका थिए। बिचौलियाको ठगी र कृषिमा हुन नसकेको उन्नित, उनले त्यसैलाई आफ्नो काम बनाउने सोचे। डिजिटलाइज कृषिको बाटो रोजे। त्यसैमा उनलाई साथ दिन जोडिए, उनकै सबैभन्दा मिल्ने साथी सुनील थापा। 

कृषिमा भएको ‘ग्याप’ कम गर्न दुई साथीले पाँच वर्षअघि ‘मेरो किसान’ एप बनाएर किसान र उपभोक्तालाई जोड्ने काम गर्दै आइरहेका छन्। किसान र उपभोक्ताबीचको सहजीकरणका लागि ‘मेरो किसान’मा किसानले आफूले उत्पादन गरेका वस्तुहरू राख्न पाउँछन् र उपभोक्ताले आफूलाई मन लागेको उत्पादकतत्व बिना बिचौलियामार्फत उपभोग गर्न सक्छन्। 

दुई साथी मिलेर लकडाउनमा सुरु गरिएको उक्त कम्पनीले बिचौलियाका कारण किसान र उपभोक्ताबीचको ‘ग्याप’ लाई कम गराउन लागिपरिरहेको कम्पनीका सञ्चालक अविनाश सिलवाल बताउँछन्। उनी भन्छन् , ‘ हामीकहाँ प्रमुख समस्या भनेको उत्पादनभन्दा पनि बजारको छ। बजार भयो भने उत्पादन एकाएक आफैं बढ्छ। हामीले त्यही कुरालाई अलि मोडिफाई गर्न मात्रै खोजेका हौँ। सबै क्षेत्र डिजिटल युगमा प्रवेश गरिसक्दा कृषि किन गर्न सकिरहेको छैन। किनकि किसानलाई आफूले उत्पादन गरेको वस्तुको कति मूल्य पर्छ नै थाहा हुँदैन। बिचौलियाले जति दिन्छन्, त्यतिमा मात्रै सीमित हुन्छन्, त्यहाँ एक किसिमको ‘ग्याप’ बन्छ, जसले गर्दा किसान र उपभोक्ताबीच कनेक्ट हुने बाटो नै हुन्न। र किसानले बजारमा के को माग छ भन्ने नै थाहा पाउँदैनन्। त्यसैले हामीले उक्त ‘ग्याप’लाई कम गराउन मूल्यसूची निर्धारण गरेर ‘हाम्रो किसान’लाई अघि बढाउँदै आएका छौं।’ 

कृषि भन्नेबित्तिकै आम मानिसमा धान, गहुँ, मकै तरकारी, आलु आदि खेती गर्ने आदिबारे सोच आउँछन्। तर, कृषि यतिमा मात्रै सीमित होइन कृषिको क्षेत्र विशाल रहेको सिलवालको बुझाइरहेको छ। उनी कृषिलाई सीमित कुरामा मात्रै नराखी उच्च मूल्य भएको उत्पादनका जानुपर्ने बताउँछन्।

‘कृषि भन्नासाथ धान, गहँु, मकै आदि फलाउने मात्रै मानिसले बुझ्छन्, तर कृषि त्यतिमात्रै नभई विशाल रूपमा फैलिएको छ। नेपालको सन्दर्भमा यहाँको भौगोलिक अवस्थाले पनि भर परेको छ। हामीले अब कृषि भन्नसाथ उही पुरानो तरिकाबाट खेती गर्ने मात्रै नभई भौगोलिक अवस्थाको कृषि प्रणाली बुझ्नुपर्छ।
जस्तै नेपालका तराई भेगमा खाद्यान्न बाली हुन्छ भने खाद्यान्न बाली लगाउने र पहाडको भेगमा अलैंची, कफी अदुवा, बेसार आदि जे हुन्छ त्यही लगाउने गर्नुपर्छ, यसरी कृषिको परिभाषालाई परिवर्तन गर्न सकिन्छ।’ 

ooo
हाल मेरो किसानका आफ्नैबाहेक दुई सय किसानका नियमित उत्पादनहरू यो अनलाइन बजारमा उपलब्ध छन्। दैनिक करिब पाँच सय अनलाइन अर्डरबाट डेलिभरी हुने गरेको छ। दराजलगायत अन्य प्लाटफर्मबाट पनि दैनिक सय वटाभन्दा धेरै डेलिभरी हुने गरेको छ। ६०–७० स्थानमा नियमित आपूर्ति छ। र किसानहरूको उत्पादनलाई सरकारले कालीमाटी बजारमा तोकिदिएको मूल्य रेन्जमा अधिकतम मूल्य ‘मेरो किसान’ले दिइरहेको दाबी उनको छ। 

अविनाश भन्छन्, ‘अहिले हामीले किसानलाई कालीमाटी बजारले तोकिदिएको मूल्य रेन्जको अधिकतम मूल्य दिएर उत्पादित सामग्री खरिद गरिरहेका छौं। हामीले बिक्री पनि होलसेल मूल्यमा नै गरिरहेका छौं। यसले किसानलाई पनि हौसला मिलिरहन्छ र उपभोक्तालाई पनि सहज हुन्छ। ’
‘मेरो किसान’ले एकदमै कम मार्जिन राखेर सकेसम्म सस्तो मूल्यमा बजार तथा उपभोक्तामा किसानको उत्पादनलाई पुर्‍याइरहेको उनले बताए। तर अन्य ईकमर्सभन्दा फरक ‘मेरो किसान’को व्यावसायिक मोडालिटी बीटुबीमा मुख्यतः केन्द्रित छ। 

कालीमाटीमा पुरानो सब्जी बेच्दै नयाँ सब्जी स्टक राखिन्छ। तर हाम्रोमा अन–डिमान्ड ताजा सब्जी पाउन सकिन्छ। यसबाहेक घरेलु उपभोक्ताले पनि ‘मेरो किसान’बाट खाद्य उत्पादनका लागि अर्डर दिन सक्छन्। सबै किसिमका सब्जी तथा उत्पादनहरूको मूल्य पनि एपमै पारदर्शी किसिमले राखिएको छ। साथै किसानको उत्पादनलाई समेत माग भए पनि, नभए पनि खेर जान नदिन र बजारसम्म पुर्‍याउने प्रत्याभूति मेरो किसानले गरेको छ। अहिले मेरो किसान कम्पनीले खाद्य वस्तु भण्डारणका लागि कोल्डस्टोर पनि बनाउँदै छ। आगामी दिनमा देशभरि उत्पादित विशेष खाद्य वस्तुलाई ‘मेरो किसान’ मार्फत बजारमा पुर्‍याउने योजना र वस्तु बजार पुर्‍याउने लक्ष्य पूरा भएपछि कृषि प्रविधिको डेलिभरी सेवा पनि कृषकसमक्ष पुर्‍याउने योजना कम्पनीको छ।

मेरो किसान अहिले त्यति ठूलो भइसकेको छैन। तर, सिलवाल र थापाको सपना भने निकै ठूलो छ– मेरो किसानलाई भरपर्दो एप बनाएर स्थानीय नेपाली रैथाने र लोकल उपादकतत्वलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने। मेरो किसानका सह–संस्थापक सुनील थापा भन्छन्, किसान दुःख गर्न तयार त छ तर, उसले उत्पादन गरेको उत्पादकतत्वको मूल्य नपाएपछि ऊ निराश हुन्छ र काम गर्न नै छाडिदिन्छ।

युरोप, एसिया, अमेरिका सबैतिर हुने खेती यहाँ पनि हुन्छ, त्यो निर्यातको लागिभन्दा पनि आयात रोक्न मात्रै केन्द्रित हुनुपर्छ। बरु यहाँको अलैंची, अदुवा, मार्सी धान, हिमाली जडीबुटी निर्यात गर्ने गरी व्यावसायिक खेती गर्नुपर्छ। हामीले यही कुरालाई मध्यनजर गर्दै हाम्रो देशमा उत्पादन हुने वस्तुलाई मेरो किसानमार्फत स्थानीय लोकल वस्तुहरूलाई ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनको लागि काम गरिरहको छ।’null

चेन सप्लाई मोडल काम गर्दै मेरो किसान

यस्तै कम्पनीले चेन सप्लाई मोडलमा जानका लागि आईपीओ निष्कासन गर्ने समेत योजना बनाएको छ। चेन सप्लाईमा गइसकेपछि कम्पनीले किसानको लागि आवश्यक बिउ, बिजन, मल किनिदिने र उत्पादन भएका वस्तुपछि किसानले ‘मेरो किसान’लाई नै दिने गर्दछ। यसरी बिना बिचौलिया किसानले आफ्नो उत्पादनको मूल्य पनि पाउने र ग्राहकले उचित मूल्यमा तरकारी, तथा अन्य कृषिजन्य उत्पादन लिन पाउँछन्। 

यस्तै उनी सरकारले किसानको मनोबल बढाउने किसान कार्ड, किसान लक्षित कार्यक्रम ल्याउनुपर्ने थापाको भनाइ छ। ‘अहिले किसान भन्नेबित्तिकै केही काम गर्न नसकेर गरेको काम जस्तो भन्ने छ, त्यसलाई चिर्न सरकारले नीतिगत व्यवस्था नै गरेर किसानलाई उचित सम्मान दिन आवश्यक छ,’ उनले भने, ‘किसान कार्ड लिएको मान्छे सिंहदरबार छिर्न सकोस् अनि पो किसानले आत्मसम्मानको अनुभूति गर्छन्। यसका साथै हरेक जिल्लाले आफ्ना जिल्लाका उत्कृष्ट कृषक छानेर सम्मान गर्ने र कम्तीमा एक हजार रुपैयाँ स्वरूप दिओस्।’

‘हाई भ्यालु’ कृषि उत्पादनमा जोड दिँदै मेरो कृषि 

‘मेरो कृषि मेरो गौरव’ भन्ने मूल नारा रहेको मेरो कृषिले स्थानीय हाई भ्यालु कृषि उत्पादनलाई स्वदेश तथा विदेशको बजारमा पुर्‍याउन लक्ष्यका साथ काम गरिरहेको छ। ‘परम्परागत कृषि उत्पादनले मात्र कृषकको जीवनस्तर उकास्न नसकिने विश्लेषण गरेर हामीले हाई भ्यालु कृषि उत्पादनमा जोड दिइरहेका छौं सञ्चालक सिलवाल भन्छन्। 

उच्च मूल्य आउने नगदेबाली तथा अर्गानिक कृषि उत्पादन गर्न सकियो भने नेपालले यो क्षेत्रमा छलाङ मार्न सक्छ उनी भन्छन्। सम्पूर्ण कृषि उत्पादनलाई मार्केट चेनमा जोड्ने गरी मेरो कृषिले काम गरिरहेको छ। ‘अब तरकारी, फलफूल मात्रै होइन, यहाँका रैथाने खाद्यान्नहरूलाई ब्रान्डिङ गरेर बृहत् रूपमा काम गर्छौं। मार्सी, कोदो, महजस्ता वस्तुहरू राम्रो प्याकेजिङ गरेर विश्वबजारमा लैजान्छौं’, सिलवालले भने।

‘परम्परागत शैलीमा खेती गरेर मात्रै हुँदैन। नयाँ खेती र प्रविधिलाई साथमा लिएर अगाडि बढ्नुपर्छ,’ उदाहरण दिँदै सिलवाल भन्छन्, ‘अब काउली रोप्ने कुरा सामान्य भइसक्यो, बन्दा रोप्ने कुरा पनि त्यस्तै हो, हरियो बन्दाभन्दा रातो रोपौं, हरियो भेंडेखुर्सानीभन्दा रातो, पहेंलो रोपौं, सबै किसानले एकै समयमा एउटै खेती गरेपछि बजार मूल्य हुँदैन नि !’

विश्व बजारको दृष्टिकोणमा नेपालले तरकारी, फलफूलभन्दा यहाँको रैथाने बाली लैजान सक्ने उनको बुझाइ छ। उनले भने, ‘युरोप, एसिया, अमेरिका सबैतिर हुने खेती यहाँ पनि हुन्छ, त्यो निर्यातका लागि भन्दा पनि आयात रोक्न मात्रै केन्द्रित हुनुपर्छ। बरु यहाँको अलैंची, अदुवा, मार्सी धान, हिमाली जडीबुटी निर्यात गर्ने गरी व्यावसायिक खेती गर्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.