भूकम्पीय जोखिमको शृंखला
पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मारसम्म फैलिएको झन्डै २५ सय किलोमिटर लामो पर्वत शृंखलालाई हिमालय पर्वत शृंखला भनिन्छ। यो विश्वको सबैभन्दा पछि बनेको र सबैभन्दा बढी चलायमान तथा सक्रिय पर्वत शृंखला हो। नेपालले यो हिमशृंखलाको बीचभागमा झन्डै ८ सय किलोमिटर लम्बाइ ओगटेर रहेको छ, जुन भूकम्पीय जोखिमका दृष्टिले निकै संवेदनशील छ। विभिन्न अध्ययनअनुसार नेपालमा दैनिक दुई म्याग्नेच्युड स्केल माथिका १०–१२ वटा भूकम्प गइरहेको हुन्छ। यसरी जाने साना भूकम्पको कम्पन थोरै हुने हँुदा यसको असर अनुभव गर्न सक्दैनौं। जसकारण यी भूकम्पका बारेमा नियामक निकायले नियमन गरेर तथ्यांक राखे पनि बाहिर चर्चा र छलफल हुँदैन। विश्वमा नेपालसहित केही यस्ता ठाउँ छन्, जहाँ दैनिक रूपमा साना र कहिलेकाहीँ ठूला स्केलको भूकम्प गइरहेका हुन्छन्। यसरी किन कुनै ठाउँ विशेषमा भूकम्प गइरहन्छ भनेर थाहा पाउन, पृथ्वीभित्रको भौगर्भिक संरचना र विज्ञानको केही आधारभूत नियम थाहा पाउन आवश्यक छ।
किन जान्छ भूकम्प र पराकम्प ? : पृथ्वीको सतह ठोस ढुंगा, माटो र खनिजले बनेको हुन्छ, जसलाई क्रस्ट भनिन्छ। पृथ्वीको आफ्नै चाप र तापका कारण त्यस ठोस तहको मुनि रहेका हरेक कुरा पग्लिएर तातो तरल पदार्थमा परिणत भएर रहेको हुन्छ, जसलाई ‘म्यान्टल’ भनिन्छ। तापक्रम घटबढ हुँदा, म्यान्टलमा रहेको त्यस तातो तरल पदार्थको घनत्व पनि घटबढ हुन जान्छ। फलस्वरूप त्यस तरल पदार्थमा संवाहान (चिसो तरल तल जाने र तातो तरल माथि आउने) प्रक्रिया हुन जान्छ। सो क्रममा तरल पदार्थले पृथ्वीको ठोस तहको मुनिको भागलाई मन्द गतिमा धकेलिरहन्छ। जसकारण पृथ्वीको ठोस तह मन्द गतिमा चलिरहेको हुन्छ, जसलाई जमिनको चलायमान (कन्टिनेन्ट ड्रिफ्ट) भनिन्छ।
यसरी चलिरहेको पृथ्वीको ठोस भागलाई त्यसको चलायमानको गति र दिशाको आधारमा विभिन्न साना टुक्रामा (टेक्टोनिक प्लेट) विभाजन गरेर नामकरण गरेको हुन्छ। यिनै स–साना टेक्टोनिक प्लेटहरू आपसमा ठोकिँदा तथा धसिँदा जमिनमा कम्पन उत्पन्न हुन्छ, जसलाई हामी भुइँचालो वा भूकम्प भन्छौं। नेपाल करोडौं वर्ष पहिले दुई ठूला टेक्टोनिक प्लेट क्रमश: इन्डियन प्लेट र युरासियन प्लेट आपसमा ठोक्किएर बनेको हो। अहिले पनि ती प्लेटहरू आपसमा मन्द गतिमा चलिरहेका र आपसमा धस्सिरहेका वा ठोक्किरहेका छन्। विज्ञका अनुसार इन्डियन प्लेट प्रतिवर्ष दुई सेन्टिमिटरको दरले उत्तरमा रहेको युरासियन प्लेट मुनि घस्सिरहेको र शक्ति सञ्चय पनि भइरहेको छ।
यसरी शक्ति सञ्चय हुने क्रममा कुनै समय सञ्चित शक्ति धेरै हुन गई धस्सिरहेको प्लेटमा दरार उत्पन्न हुन्छ। सोही क्रममा जमिनमा कम्पन हुन गई भूकम्प जान्छ। यस समयमा कहिलेकाहीँ दरार उत्पन्न भएर जमिन हल्लिँदासमेत सञ्चित शक्ति सक्दैन। जसका कारण भूकम्प गएको केही दिन, महिना वा वर्षसम्म पनि स–साना कम्पन आएर बाँकी भएको शक्ति सकिने काम हुन्छ, जसलाई पराकम्प भनिन्छ। नेपालमा ७२ सालको भूकम्प पनि एक वर्षभन्दा पछिसम्म हजारौं संख्यामा पराकम्प आइरहयो। नेपालको जमिनमुनि यसरी दुई ठूला टेक्टोनिक प्लेटहरू आपसमा ठोक्किइएर बसेका कारण हरेक समय नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा छ।
पूर्वानुमान गर्न सकिन्छ ? : प्राकृतिक प्रकोपमध्ये भूकम्प एउटा यस्तो प्राकृतिक प्रकोप हो, जसको कुनै पूर्वअनुमान लगाउन सकिँदैन। तर आजको विकसित युगमा विभिन्न प्रविधिको प्रयोग गरेर केही सेकेन्ड अगाडिसम्म पूर्वसूचना दिनेसम्मको प्रविधिको विकास भएको छ। त्यसको साथै भूकम्प जाँदा उत्पन्न हुने विभिन्न तरंगमध्ये मानिसले अनुभव गर्न नसक्ने तर केही जनावर तथा पक्षीहरूले अनुभव गर्न सक्ने तरंग पहिले नै जमिनको सतहमा आउने हुँदा जमिनको कम्पनका कारण जनावरले देखाउने अस्वाभाविक क्रियाकलापबाट पनि केही सेकेन्ड अगाडि भूकम्पको पूर्वसूचना पाउन सकिन्छ। योबाहेक भूकम्पको पूर्वानुमान सम्बन्धीको अनुसन्धान चलिरहेको छ।
भूकम्पको पूर्वतयारी ? : भूकम्प कहिले जान्छ र कत्रो जान्छ भनेर पूर्वानुमान गर्न नसकिने हुँदा यसको पूर्वतयारीका कुरा पनि त्यति बहसमा आउँदैन। भूकम्पको पूर्वतयारीका लागि नेपाल तथा नेपाल जस्तै भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा रहेका देशहरूले आफ्नो देशमा बनाउने विभिन्न भौतिक संरचनाहरू बनाउँदा भूकम्पको जोखिमलाई मध्यनजर गरेर बनाउनु पर्छ। साथै विद्यालय तहबाटै बालबालिकालाई भूकम्प भनेको के हो ? कसरी जान्छ ? यसबाट कसरी बच्न सकिन्छ ? भन्ने जस्ता कुरा सिकाउनु पर्छ। जसले गर्दा भूकम्पका कारण हुने क्षतिलाई कम गराउन सकिन्छ।
भूकम्पको कारण हुने क्षति तथा असर : भूकम्प यस्तो प्राकृतिक प्रकोप हो जुन एक्लै आउँदैन। यसले अन्य बिपत्ति र प्रकोपलाई समेत सँगै बोकेर ल्याउँछ। जस्तै: भूकम्प गएपश्चात् सुनामी, सुक्खा पहिरो, हिमताल बिस्फोट तथा आगलागीजस्ता समस्या सँगै आउँछन्। त्यसकारण भूकम्प गएपश्चात् सरकारी तवरबाटै हरेक कुराको नियमन तथा अनुसन्धान हुन अत्यन्त जरुरी हुन्छ।
भूकम्पको मापन : भूकम्पको जमिनमुनिको केन्द्र बिन्दुलाई हाइपो सेन्टर भनिन्छ भने त्यसको ठीक माथिको जमिनको सतहमा रहेको बिन्दुलाई इपिसेन्टर भनिन्छ। जति हाइपो सेन्टरको दूरी कम भयो, त्यति नै भूकम्पको असर र क्षति बढी हुन्छ। जति दूरी बढी भयो, त्यति क्षति र असर कम हुन्छ। त्यस्तै, इपिसेन्टरबाट नजिकको ठाउँमा भूकम्पको असर बढी र जति टाढा गयो, त्यति असर कम हुन्छ। भूकम्प नाप्न कुनै पनि देशले जमिनको विभिन्न ठाउँमा भूकम्प मापन यन्त्र जडान गरेको हुन्छ, जसले भूकम्प गएको केही सेकेन्डमै भूकम्प जमिनभन्दा कति तलबाट कत्रो शक्तिमा आएको हो भनी जानकारी दिन्छ। नेपालमा पनि भूकम्प नाप्न खानी तथा भूगर्भ विभागले नेपालको विभिन्न ठाउँमा भूकम्प मापन यन्त्र जडान गरेको छ। नेपालमा आएको भूकम्प कत्रो आयो भनेर विदेशी देशहरूले आफ्नो देशसम्म पुगेको भूकम्पीय तरंग र आफ्नो देशमा भएको भूकम्प मापन यन्त्रको सहायताले मापन गर्न सक्छन्।
भूकम्पसम्बन्धी अध्ययन अनुसन्धान : विश्वमा भूकम्पको पूर्वानुमान तथा अन्य विषयलाई लिएर विभिन्न अध्ययन अनुसन्धान भइरहेका छन्। विपत्तिहरूमा एकै पटकमा ठूलो जनधनको क्षति गराउने विपत्ति भएकाले पनि यसको हरेक आयामबाट अध्ययन, अनुसन्धान हुन आवश्यक छ। नेपालमा पनि पछिल्लो समय भूकम्पको बारेमा अध्ययन अनुसन्धान गर्न विश्वका भू–वैज्ञानिकहरू आउने र नेपालका पनि भू–वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूले ती विदेशी अनुसन्धानकर्तासँग सयुंक्त रूपमा गरिने अध्ययन अनुसन्धानले पक्कै नेपाल र नेपाली समुदायलाई लाभ भइरहेको छ। नेपाल सरकारले पनि सरकारी तवरबाटै यस्ता अध्ययन अनुसन्धानलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने देखिन्छ।
गौतम, नास्टमा कार्यरत अनुसन्धानकर्ता हुन्।