स्वस्थ माटो,स्वस्थ जीवन
नेपालको आर्थिक विकासमा कृषिको ठूलो योगदान छ। तर नेपालमा कुल कृषियोग्य जमिन कम हुँदै गएको पाइन्छ। २०७८ सालमा प्रकाशित सातौं राष्ट्रिय कृषि तथ्यांकअनुसार नेपालको कुल खेतीयोग्य जमिन २२ लाख हेक्टर मात्र छ, जुन एक दशकमा तीन लाख हेक्टरले घटेको देखिन्छ। त्यसमाथि अत्यधिक र जथाभावी विषादीको प्रयोगले खेतीयोग्य जमिनको गुणस्तर खस्किरहेको छ। विश्व स्वास्थ्य संगठनले सन् २०१५ मा गरेको सर्वेक्षणअनुसार दक्षिण एसियामा रासायनिक मल र विषादीको प्रयोग २० प्रतिशतले बढेको छ।
युनाइटेड नेसन्स इन्भाइरोन्मेन्ट प्रोग्रामका अनुसार अत्यधिक रासायनिक मलको प्रयोगले ६० प्रतिशत अमोनिया प्रदूषण भएको छ। विषादीयुक्त कृषि उपजले मानवको स्वास्थ्यमा मात्र नभई माटोको उर्वरा शक्ति र जैविक विविधतामा समेत क्षति पुर्याइरहेको छ। युरोपियन इकोनोमिक एरियाका अनुसार नाइट्रोजन प्रदूषणको कारणले प्रतिवर्ष ६० देखि ३७० बिलियन डलरबराबरको आर्थिक क्षति हुने गरेको देखिन्छ।
स्वस्थ माटोलाई स्वस्थ जीवनको आधार मानिन्छ। हाम्रो जस्तो कृषिप्रधान देशमा यो भनाइको ठूलो महŒव छ। तर कृृषि विभागले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले नेपालको माटो अधिक अम्लीयपन र प्रांगारिक पदार्थको कमीले अस्वस्थ भएको देखाउँछ। रासायनिक मलको अत्यधिक प्रयोगले नेपालमा भइरहेको पर्यावरणीय प्रदूषण, वातावरणीय परिवर्तन र माटोको उर्वरा शक्तिको ह्रासलाई नियन्त्रणमा ल्याउन र स्वस्थ खानाको उपलब्धतालाई सहज बनाउन अब विषादी र रासायनिक मलको विकल्पको रूपमा मात्र नभई त्यसलाई विस्थापित गर्दै लैजान जैविक कृृषिको प्रवद्र्धन गर्नुु अपरिहार्य बनेको छ।
प्रांगारिक कृषि परम्परागत कृषि प्रणालीअन्तर्गतकै अभ्यास हो जसमा विषादीहरूको प्रयोग हँुदैन। प्रांगारिक कृषि प्रणालीलाई निम्न सिद्धान्तका आधारमा परिभाषित गर्न सकिन्छ : (१) स्वास्थ्य, (२) पर्यावरणीय अनुकूलता, (३) समानता र स्वच्छता (४) संरक्षण र सावधानी (स्रोत: एफआईबील)। नेपालमा प्रांगारिक कृृषिको आवश्यकता प्रष्ट भए पनि रासायनिक मल प्रवद्र्धन गर्ने सरकारी नीतिका कारण कृषकहरू सहज रूपमा प्रांगारिक कृषिप्रति आकर्षित हुने अवस्था छैन।
यसै परिप्रेक्ष्यमा जैविक विषादी र जैविक मल बनाउने नयाँ प्रविधिको खोजी गर्दै नेपाली कृषकहरूलाई जैविक कृषिमा सहयोग गर्न चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालनमा छ। जसको जैविक कृषि कार्यक्रमअन्तर्गत पंक्तिकारको सुपरिवेक्षणमा स्थानीय स्रोतसाधनको उपयोग गरी जैविक मल र जैविक विषादी बनाउनेसम्बन्धी अनुसन्धान कार्य अगाडि बढिरहेको छ।
प्रभावकारी र किफायती जैविक विषादी र जैविक मलको उत्पादनमार्फत धेरैभन्दा धेरै कृषकलाई जैविक कृषितर्फ प्रोत्साहन गर्ने हाम्रो अनुसन्धानको उद्देश्य हो। हाम्रो प्राथमिक सर्वेक्षणअनुसार धेरै कृषक जैविक कृषिमा लाग्न इच्छुक त छन् तर बाली रोगको प्रकोप र अत्यधिक बिग्रिएको माटोमा रासायनिक मल बिना उत्पादन नहुँदा जैविक कृषिलाई व्यवहारमा उतार्न गाह्रो भएको देखिन्छ। राम्रो जैविक मल र बाली रोग नियन्त्रण गर्ने प्रभावकारी जैविक विषादीको उत्पादन तथा बजार व्यवस्थापन हुन सकेमा जैविक खेती प्रणाली दिगो हुन सक्छ। यही उद्देश्य पूर्ति गर्न यो विश्वविद्यालयको अनुसन्धान टोलीले बाली रोग नियन्त्रण र व्यवस्थापन विधि, जैविक मल र जैविक विषादी बनाउने विधिको खोजी गर्दैछ। प्रत्येक बाली रोगका लागि निश्चित व्यवस्थापन र विषादीको आवश्यकता हुन्छ।
माटो र मानवलाई नकारात्मक असर नगर्ने तर रोग नियन्त्रण गर्न सक्ने जीवाणुको खोज, स्थानीय स्रोत साधनबाट बनाउन सकिने जैविक मलको अनुसन्धानले नेपालको कृषि उत्पादनमा टेवा पुर्याउँछ भन्ने विश्वास छ। यस प्रकारको जैविक मल र जैविक विषादीको प्रयोगले नेपालमा स्वस्थ माटो, पोषिलो खाना र स्वस्थ जीवनका दिगो विकासका लक्ष्यहरू हासिल गर्न समेत मद्दत पुर्याउनेछ। जैविक मल र जैविक विषादीको अध्ययन, अनुसन्धान र प्रयोग विश्वभरि नै तीव्र रूपमा प्राथमिकताका साथ भइरहेछ। यस विश्वविद्यालयमा भइरहेको जैविक कृषिसम्बन्धी अनुसन्धानले कृषि क्षेत्रमा प्रभावकारी सकारात्मक असर र ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।
बाली रोग विशेषज्ञ डा. श्रेष्ठ हाल मदन भण्डारी, विज्ञान तथा प्रविधि विश्वविद्यालयमा अनुसन्धानरत छन्।