बर्दियामा पर्यटन प्रवर्द्धन गर्न महोत्सव
गुलरिया : बर्दियाका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्न महोत्सव सरू भएको छ। बर्दिया राष्ट्रिय निकुञ्ल, कृष्णसार संरक्षण क्षेत्र, बबई उपत्यका, बढैयाताललगायत जिल्लाका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास गर्न बारबर्दिया नगरपालिकाको जयनगरमा पहिलो पटक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव आयोजना गरिएको हो।
लुम्बिनी प्रदेश सरकारले शुभारम्भ गरेको 'घुम्न जाउँ बर्दिया' अभियानलाई समेत महोत्सवमार्फत् सफल बनाउने लक्ष्य लिइएको छ । पुष २५ देखि शुभारम्भ भएको बारबर्दिया व्यापार महोत्सव माघ ५ गते सम्म चल्ने बारबर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष नमराज पौडेलले जानकारी दिए ।
५ करोड रुपैयाँ बराबर कारोबार हुने अनुमान गरिएको व्यापार महोत्सवमा २ सयवटा स्टल राखिएका छन् । स्थानीय वस्तु तथा सेवाको बजार प्रर्वद्धनसँगै स्थानीय उद्यमी तथा व्यवसायीहरूलाई उत्पादन तथा बजारीकरणमा प्रोत्साहन गर्दै जिल्लाका पर्यटकीय गन्तव्यहरूको प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव १ लाख दर्शकहरूले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
कृषि उद्योग र पर्यटनमा वृद्धि बारबर्दिया नगरको समृद्धि भन्ने मूल नारा दिइएको महोत्सवको बारबर्दिया नगरपालिका संरक्षक तथा बारबर्दिया उद्योग बाणिज्य संघ आयोजक रहेको छ । महोत्सवबाट ५७ लाख ८० हजार रुपैयाँ अनुमानी आय तथा ५३ लाख ८० हजार खर्च अनुमान गरिएको अध्यक्ष पौडेलले प्रष्ट्याए ।
महोत्सव मार्फत् बारबर्दिया नगर पालिकाको कृषिजन्य उत्पादन तथा जडीबुटीहरुको व्यवसायीकरण गर्दै लगानीका अवसरहरूको खोजी गर्न मद्दत पुग्ने बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले बताए । महोत्सवका माध्यमबाट बारबर्दियाको महत्वपूर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचार प्रसारसँगै प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।
यहाँको पर्यटकीय सतखलुवा ताल, पिकनिक स्पोट, धार्मिक स्थलहरूलगायत कृषि उपजको प्रवर्द्धनमा महोत्सवले सहयोग पुग्ने नगरप्रमुख थारुको भनाइ छ । महोत्सवमा घरेलु उद्योगबाट उत्पादित वस्तु, दैनिक उपभोग्य सामाग्री, कृषि उत्पादन तथा जडीबुटी, हस्तकला, स्थानीय कला, संस्कृति, परिकार, सूचनामूलक सामाग्री दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारबाट गीत,नृत्य,हाँस्यव्यङ्यलगायतका सांस्कृतिक प्रर्दशनीहरूको अवलोकन र सेवा लिन सकिने व्यापार महोत्सवका व्यवस्थापक सुभाष परियारले बताए ।
स्थानीय कला,संस्कृति,भाषा तथा साहित्यको संरक्षणका लागि महोत्सव फलदायी उनको विश्वास छ। माघी पर्वको अवसर पारेर बर्दियाको बाँसगढी,ठाकुरद्वारा मन्दिर प्रांगण, राजापुर नगरपालिका तथा मधुवन नगरपालिकामा थुप्रै मेला महोत्सवहरूको आयोजना गरिएका छन् ।