राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने
गुल्मी : राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ गतेदेखि संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने भएको छ। राष्ट्रिय जनमोर्चा जिल्ला समिति गुल्मीले शुक्रबार जिल्लाको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरेर देशमा संघीयता जनताको माग र देशको राष्ट्रिय आवश्यकताका आधारमा नआएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको जानकारी दिएको हो।
राष्ट्रिय जनमोर्चाले चैत २४ देखि ३० गतेसम्म राजधानी काठमाडौंमा संघीयताको खारेजी, गणतन्त्रको रक्षा, भ्रष्टाचार उन्मूलन र सुशासनका लागि आन्दोलन गर्ने भएको जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीले जानकारी दिए। अध्यक्ष क्षेत्रीका अनुसार राष्ट्रिय जनमोर्चा जिल्ला समिति गुल्मीले यही पौष २५ गते जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण गरिसकेको छ। जिल्लाभर माघ महिना भित्र संगठनात्मक तथा प्रचारप्रसार अभियानलाई तीव्र पार्ने छ। पार्टीले स्थानीयस्तरमा बैठक, प्रशिक्षण, सदस्यता वितरण, टोल समितिहरूको गठन, पर्चा वितरण र कोणसभा गरिने भएको छ।
हाम्रो देशमा सङ्घीयता जनताको माग र देशको ऐतिहासिक र राष्ट्रिय आवश्यकताका आधारमा आएको होइन। विभिन्न साम्राज्यवादी देशहरू, मुख्यतः भारतीय साम्राज्यवाद र पश्चिमी साम्राज्यवादी देशहरूको दबाबका कारणले नै नेपालमा सङ्घीयता ल्याइएको उनले बताए।
लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले संघीयता देशको हितमा हुँदै नभएको र स्थानीयदेखि सरकार भ्रष्टाचारमा लिप्त भएको बताए। थापाले संघीयता जनताको दैनिक हितमा नभएको , आर्थिक र सामाजिक सद्भाव भत्काउने अवस्था सिर्जना गरेकाले यसको छिटो खारेज गर्नु देशका लागि हितकर हुने बताए। समस्याका जड नै ठूला पार्टी रहेको आरोप लगाउँदै थापाले स्थानीय निकाय र सरकार भष्ट्राचारका केन्द्र भएको दाबी गरे। साना दलहरूको टाउकोमा दोष थुपारेर ठूला दलहरू पानी माथिको ओभानो बन्न खोजेको आरोप लगाए।
फागुन महिनामा आर्थिक अभियान संचालन र चैत्रमा जिल्लाबाट काठमाडौंमा सयौंको सहभागिता बनाउन तयारी थालिएको जनमोर्चा गुल्मीले जनाएको छ। त्यस्तै रामकुमार क्षेत्रीको संयोजकत्वमा सात सदस्यीय आन्दोलन व्यवस्थापन तथा परिचालन समिति निर्माण गरिएको छ।