विद्यालयमा खाना महोत्सव
गुल्मी : गुल्मीमा विद्यार्थीले अतिरिक्त क्रियाकलाप अन्तर्गत खाना महोत्सव आयोजना गरेका छन्। जिल्लाको सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयका विद्यार्थीले शुक्रबार खाना महोत्सव गरेका हुन्। स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्दै परिकार खुवाउने उद्देश्यले खाना महोत्सव कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
वार्षिक कार्ययोजनाअनुसार विद्यालयमा प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप हुने गर्छन्। जसमा शैक्षिक, खेलकुद र सांस्कृतिक कार्यक्रम पर्छन्। विद्यार्थीहरूले विद्यालयमा पहिलो पटक खाना महोत्सव कार्यक्रमको माग गरेपछि अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रवार महोत्सवको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले बताए। उनले समुदायमा हुने स्थानीय खानेकुरा बारेमा विद्यार्थीलाई जानकारी दिँदै विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई उजागर गर्न महोत्सवले टेवा पुग्ने बताए।