८२ जनाको दृष्टि फर्कियो
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्चीमा भएको आँखा शिविरमा ८२ जना मोतियाबिन्दुका बिरामीको दृष्टि पुनर्स्थापित गरिएको छ।
आफूले पुनः आँखा देख्न पाएकोमा स्थानीय विष्णुप्रसाद सापकोटाले खुसी व्यक्त गरे। दृष्टि पुनर्स्थापना पछि आफूहरूलाई आत्मनिर्भर बन्न, आफ्नो दैनिक जीवन सहज रूपमा सञ्चालन गर्न, सामाजिक गतिविधिमा पुनः सक्रिय हुन र आर्थिक रूपमा लाभदायक कार्यहरूमा संलग्न हुन सहयोग पुग्ने उनले बताए।
सापकोटाजस्तै स्थानीय टक्करकुमारी दुलालले पनि फेरि आँखा देख्न पाएकोमा निक्कै खुसी लागेको प्रतिक्रिया दिइन्। ‘अब त आँखा देख्छु जस्तो लागेको थियो, भगवानले नै आँखा दिएजस्तो लागिरहेको छ’, उनले भनिन्।
दुई दिनसम्म चलेको शिविरमा ८० मोतियाबिन्दु प्रभावित आँखाको शल्यक्रिया गर्ने लक्ष्य राखिएकोमा ८२ मोतियाबिन्दु प्रभावित आँखाको सफलतापूर्वक दृष्टि पुनर्स्थापित गरिएको तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख आशीष भट्टले जानकारी दिए। शिविरमा मोतियाविन्दुको शल्याक्रियासँगै २ वटा मासु पलाएको शल्यक्रिया गरी कुल ८४ वटा शल्यक्रिया सम्पन्न भएको भट्टले बताए।
तिलगंगा आँखा प्रतिष्ठान र तिलगंगा सामुदायिक आँखा केन्द्र, मेलम्चीको सहकार्य तथा मेलम्ची नगरपालिकाको समन्वयमा भएको शिविरमा डा. प्रतिभा लामा जोशी र रमिता महर्जनले आँखाका बिरामीहरूको शल्यक्रिया गरेका थिए।
गत साता मेलम्ची, दुवाचौर, इन्द्रावतीको नवलपुर र भिमटारमा छनौट शिविर सञ्चालन गरी मोतियाविन्दुको शल्याक्रिया गर्नुपर्ने बिरामीको छनौट गरिएको थियो। मेलम्ची नगरपालिकाले शल्यक्रिया गराएका बिरामीहरूका लागि खाना र औषधीको व्यवस्था गरेको नगर प्रमुख आइतमान तामाङले बताए।