‘नाक अलि मिलेन जस्तो छ, हेर त कल्पु ।’
चित्रकार ब्रस चलाइरहेछ। सम्झनामा आएजति अनुहारको बनोट र चिह्नहरू बताउँदैछ चित्रकारको छेउमा बसेर हरि। फोटोमा लागेका रङहरू धमिला देखिन्छन्। सायद हरिको मानसपटलमा घुमिरहेको चित्र नै धमिलो भएर पो हो कि।
आमाको मृत्यु हुँदा हरि तीन वर्षको थियो। आमाको मृत्युपश्चात् हरिको बाबा कमलले अर्को विवाह गरेनन्। आर्थिक अवस्था कमजोर भएकै कारण उसले श्रीमतीलाई राम्रो उपचार गराउन नसकेको पछुतो थियो गरिबीको। आफूले पाएको गरिबी हरिलाई नहोस् भन्ने चाहनामा छटपटिरहन्थ्यो। तर, कसरी? घर खेतबारीको नाउँमा त्यही बसिरहेको खरले छाएको झुपडी र त्यो छाप्रो नजिकै पानीको कल गाडेको जमिन। अर्काको घरमा हली बसेर कसरी सुखको सपना देख्ने! तर, छोरालाई अभावको जिन्दगीबाट टाढा राख्नु थियो। श्रीमतीको मृत्यु भएको ४५औं दिनमा रोजगारको लागि अरब मुलुक जाने निधो गर्छ कमल।
हरिलाई उसैको मावलामा छाडेर कमल परदेश पस्छ। अरबको त्यो तातो घामको कुनै पर्वाह थिएन उसलाई। पर्वाह थियो त छोरालाई कसरी राम्रो विद्यालयमा पढाउने र सुखको जीवन दिने भन्ने। हरि मावलामा हुर्कंदै गयो। कमल अरबमा पसिना बगाउँदै गयो। कमलले पैसा पठाउँदै गयो। हरिले राम्रो अंक ल्याएर एसएलसी पनि सकायो।
अरब पसेको वर्षौं भइसक्यो। त्यो बीचमा एकपटक पनि बिदामा आएको छैन कमल। रित्तो घरमा पार्वतीको यादबाहेक केही थिएन। सायद त्यसैले होला ऊ बिदा आउन चाहँदैन थियो। पार्वतीबिना बाँच्न नसक्ने कमल आज उसको यादमा बाँचिरहेछ त्यही नै ठूलो कुरा थियो। छोरालाई पढाएर ठूलो मान्छे बनाउने सपनामा तल्लीन थियो हरि। गाउँमा अलि पर पीसीओ थियो। त्यहीबाट कहिलेकाहीँ फोनमा छोरासँग गफ हुन्थ्यो। फोनमै छोराको बोली सुनेर लक्ष्यतिर बढिरहेको थियो कमल।
‘बुबा म इन्जिनियर पढ्छु है।’
‘हुन्छ छोरा तँलाई जे पढ्न मन लाग्छ पढ् तर जे पढे पनि राम्रोसँग पढ्नू।’
‘पैसा त धेरै लाग्छ नि फेरि तपाईंले पैसा नपठाएर बीचैमा पढाइ रोकिने त होइन!’
‘रोकिँदैन छोरा तैंले पढाइ सकेर तेरो जागिरको पक्का नभएसम्म म कमाइरहन्छु। तँ ढुक्क भएर पढ्।’
हरि काठमाडौंमा इन्जिनियर पढ्दैछ। कमल अरबमा रगत पसिना बगाइरहेछ। खुसी छ कमल। कमाइले छोरालाई पढाएर उसको खुसी दिन पुगेको छ। उमेरसँगै कमलको शरीर खस्किँदै छ। शारीरिक रोग¸ तातो राप र आँधीहुरीले कमलको सपनालाई छेक्न सकेको छैन। उसको मुहारमा देखिएको खुसीले सधैं नयाँ बिहानी ल्याइरहेको थियो। अल्झिरहेको थियो सपनाको बास अनि खुसीको आश।
हरि काठमाडौंमा पढ्न आएदेखि भने कमलको छोरासँग कुरा हुन पाएको छैन। फोनमा कुरा गर्न पनि उसँग सम्पर्क नम्बर छैन। छ त हरिको बैंक खाता भएको बैंकको नाम र खाता नम्बर। सम्पर्क नम्बर खोजेर फोन गर्न पनि कहिल्यै चाहेन। छोरालाई डिस्टर्ब होला अनि आफैंलाई पनि अतीतले गाँज्ला कि भन्नेमा सायद सचेत थियो।
दिन बित्दै गए। हरि पढ्न काठमाडौं आएको पनि १२ वर्ष बितिसकेछ। ४० वर्षको उमेरमा अरब पसेको कमल ६५ वर्षको भइसकेछ। उसका चाउरी पर्न थालेका छालासँगै जीर्ण हुँदै गएको शारीरिक अवस्था। कम्पनीले जागिर दिने समय पनि सकिइसकेछ। ‘अब स्वदेश फर्कनुको विकल्प छैन। कदाचित छोरासँग कुराकानी केही भएको छैन, छोरा रिसाउने पो हो कि! इन्जिनियर भयो कि नाइँ, छोराको सपना चक्नाचुर हुने त होइन!’
यस्तै सोच्दै थियो। आफू अरब आउँदा साथमा ल्याएको झोला समाउन पुग्छ। जबजब द्विविधामा पर्थ्यो कमल त्यही झोला समाउँथ्यो। आज पनि त्यही झोलामा नजर पुर्याउँछ। उसलाई थाहा छ¸ त्यो झोलाभित्र छ उसको समस्याहरूका समाधान अनि उसको तागत अर्थात् सबै। झोलाभित्र उसको पुरानो डायरी कपी छ। डायरीको अगाडिको पानामा श्रीमती पार्वतीको तस्बिर टाँसिएको छ। कमलका लागि जीवनको पहेंली फुकाउने माध्यम बनेको छ पार्वतीको तस्बिर। अर्थात् त्यो मन्द मुस्कान छरिरहेको पार्वतीको तस्बिर नै कमलको बाँच्ने आधार।
झोला खोतल्छ। त्यहाँ एउटा सानो कागजको टुक्रा फेला पार्छ। हरिलाई विद्यालय भर्ना गर्न जाँदा विद्यालयले दिएको एउटा कागजको स्लिप। जहाँ विद्यालयको नाम सम्पर्क नम्बर र प्रधानअध्यापकको नाम लेखिएको थियो। त्यो कागजमा लेखिएको सम्पर्क नम्बरमा फोन गर्छ। २० वर्ष अगाडिका प्रधानाध्यापक नभए पनि उसको छोरा हरिलाई चिन्ने शिक्षक भने फेला पार्छ।
इन्जिनियर बनेर काठमाडौंमा राम्रो कम्पनीमा जागिर सुरु गरेको तीन वर्ष भइसकेको जानकारी प्राप्त गर्छ। सपना साकार हुँदै गरेको खुसीले डायरीमा टाँसिएको पार्वतीको तस्बिर हेर्दैः ‘पारु तिम्रो छोरा इन्जिनियर बनिसकेछ। राम्रो जागिर पनि पाइसक्यो रे। अब म स्वदेश फर्केर तिमी र मैले बनाएको त्यो घरलाई फेरि सजाउनु छ। तिम्रा केही चाहनाहरू पूरा गर्न अझै बाँकी छन् पारु। अब नेपाल फर्केर पूरा गर्छु है ।’ तस्बिरमा श्रीमतीसँग कुरा गर्दै नेपाल फर्कने अनुमति माग्छ।
गर्व छ कमललाई जिउँदै स्वदेश फर्कन सकेकोमा। उसले धेरै काठका बाकसहरू जहाज चढेर स्वदेश फर्केको देखेको छ। कति बाकसहरू आफ्नै हातले उठाएको पनि छ जहाजसम्म पुर्याउन। काठमाडौं एयरपोर्टमा ओर्लिरहँदा छोराको याद नआएको होइन। तर, उससँग ठेगाना नै थिएन। एयरपोर्टबाट ओर्लिएर सरासर बसपार्क गोंगबु पुगेर सिधै गाउँतिर लाग्छ। गाउँ पुगेपछि देख्छ। सहर त परिवर्तन भएकै थियो, उसको गाउँमा पनि धेरै कुराहरू परिवर्तन भएको पाउँछ। आफ्नो झुपडी हेर्छ। त्यहाँ पनि परिवर्तन! घरको छानो छैन, झाडीले छोपेको छ। सम्झिन्छ के पाएँ के गुमाएँ! हिसाबकिताब छैन। मर्मत सम्भारमा जुट्यो। आयो उही पुरानै अवस्थामा। थिएन त मात्र पार्वतीको भौतिक उपस्थिति।
छोरासँग भेट हुन पाएको थिएन। ठेगाना खोज्दाखोज्दै दिनहरू बितिरहेका थिए। अरबबाट फर्किने एक महिना अगाडिसम्म आफूले कम्पनीबाट पाएको तलबबाट छोरालाई खर्च पठाइरहेकै थियो। पैसा पठाउन छाडेको पनि धेरै भइसक्यो। किन पैसा रोकियो न सोधखोज न असर। सायद अब उसलाई बाबुको कमाइको कुनै आवश्यकता थिएन कि! सहरबाट आउने जोसुकैलाई सोध्न छुटाउँदैन कमल। एकदिन हरिलाई चिन्ने र उसको अफिसको ठेगाना थाहा पाउने व्यक्ति फेला पार्छ। उसलाई लाग्छ भगवान् नै फेला पारें। अनि गाउँका छरछिमेकीसँग बिदा मागेर छोरा भेट्न राजधानी सहरितर लाग्छ।
एक्ला-एक्लैको भीड सहरमा कमल हराउनु कुनै नौलो कुरा थिएन। गाउँमा सावाँ अक्षर नचिनेको कमललाई ए, बी, सी, डी भने अरबले सिकाएको थियो। हातमा बोकेको कागजको टुक्रा। अंग्रेजीमा लेखिएको अफिसको नाम र ठेगाना खोज्दै एउटा ठूलो कम्पाउन्डमा पुग्छ। आँगनभरि गाडी नै गाडी, सबै सुकिलामुकिला आफू थोत्रो कमिज र सुरुवाल चप्पल लगाएको त्यति ठूलो र सफा अफिसमा छिर्नै डराउँछ। गेटमा बसेको सुरक्षागार्डलाई सोध्छः ‘तपाईं हरि इन्जिनियरलाई चिन्नुहुन्छ’ गार्डले रिसेप्सनमा देखाइदिन्छ। ‘त्यहाँ गएर सोध्नोस्।’ रिसेप्सनमा बसेकी युवतीले कमललाई आफ्नो नाम र काम सोध्छिन्। फोन घुमाउँछिन्। ‘एकैछिन बस्दै गर्नुहोस् रे अहिले सर आउनुहुन्छ।’
सुट टाई लगाएको गोरो आकर्षक जिउडाल भएको व्यक्ति कमलकै छेउबाट रिसेप्सनमा पुग्छ। सोध्छ खोइ को भेट्न आएको? रिसेप्सनिस्टले देखाइदिन्छिन्। कमल उठेर हरिको छेउमा पुग्छ। ‘ए तपाईं हो ?’ प्रश्न सोध्दै अफिसको आँगनतिर ल्याउँछ। हरि र कमलबीच कुराकानी भइरहेछ। ‘किन अफिस अफिसमा आएको? त्यो पनि यस्तो हुलिया! कस्तो मान्छे!‘ त्यहीबेला एक युवती बाहिर निस्किएर हरिलाई बोलाउँछिन्। ‘ए हरि! ढिला भयो के? हिँड्न भन्या।’ हरि युवतीतिर जान्छ। युवतीले सोध्छिन् उहाँ ‘को हुनुहुन्छ? अहिले यहीँबाटै भेटघाट सकाउन पर्ने हो र! घरैमा बसेर गफ गरौँ न सँगै लगौं’ हरि इन्कार गर्छ। ‘गाउँबाट आएको मान्छे हो। ठीक छ भेट भइहाल्यो। अब जाउँ।’ छोरा र ती युवतीको कुरा सुनिरहन्छ कमल। नजिकै रहेको गाडी चढेर दुवैजना कमलको आँखाबाट ओझेल हुन्छन्। कमलका आँखा रसाउँछन्। आफ्नो शरीरतिर हेर्छ। हतारहतार कम्पाउन्डबाट बाहिरन्छ अब कहिल्यै भेट्न नआउने वाचा गरेर।
रात पर्दै थियो। रात बिताउन उपयुक्त स्थानको खोजीमा तर फेला पार्दैन। सडक पेटीमा मानिसहरू सुतिरहेको देख्छ। ऊ पनि त्यसैमा सामेल हुन पुग्छ। एक्लाएक्लैको भीडमा अर्को एकजना थपियो। गाउँ फर्कने साहस गरेन। जानु पनि त थिएन उसलाई। गाउँमा को नै थियो र! पार्वतीले छाडेर गएपछि विशुद्ध एक्लो। अरबको तातोमा एक्लो, गाउँ फर्केर आएपछि एक्लो र आज एक्ला एक्लैको भीडमा पनि एक्लो।
देशमा कोरोनाको महामारी फैलियो। सडकपेटीमा मृत्यु पर्खिरहेको कमललाई पनि कोरोनाले छोयो। छेवैमा बसेका अरू एक्लाहरूले अस्पतालसम्म पुर्याए। कहिल्यै नछुट्ने त्यो झोला भने सँगै थियो। मुखमा अक्सिजन पाइप छ। झोलाको डायरी सिरानीमा छ। बिहान करिब ४, ५ बजेको समय अस्पतालका नर्स ढोकाबाट कमललाई चिहाउन पुग्छन्। छातीमा डायरी थियो। एउटा हातले डायरी र अर्को हात डायरीमा टाँसिएको फोटोमा थियो। थिएन त केवल कमलभित्रको ढुकढुकी। एकैछिनमा नेपाली सेनाको टुकुडीले प्लास्टिकमा पोको पार्यो। पशुपतिमा रहेको विद्युतीय शवदाहमा लगेर कमलले प्रयोग गरेका सरसामान र झोलासँगै त्यो डायरी पनि शवसँगै नष्ट गरिए। पीडाको मलहम पार्वतीको तस्बिर पनि कमलले सँगै लग्यो।
आमाको मुहार याद छैन। धमिलो भए पनि मानसपटलमा रहेको बाबु कमलको तस्बिरलाई आज इन्जिनियर हरि घरको भित्तामा उतार्न खोजिरहेछ। तस्बिरमा खोजिरहेछ आमा र बाबुलाई! रहर हो या पश्चाताप! आज फोटो खोजिरहेछ।