संसदको सामना गर्ने आँट सरकारसँग छैन : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको सामना गर्ने आँट सरकारसँग नभएको टिप्पणी गरेका छन्।
ललितपुरमा शनिबार आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले संसदको सामना गर्ने र छलफल बहसबाट समस्याको समाधान खोज्ने आँट सरकारसँग नरहेको बताए। उनले सरकार एकदलीय शासनउन्मुख भएकोसमेत ओरोप लगाए। अहिले एकदलीय शासन र सोचको सुरुवात भएको भन्दै उनले सबैलाई प्रयोग गर्न खोजको बताए। संसद छलेर अध्यादेश ल्याएको भन्दै उनले आपत्ति जनाएका थिए।
अध्यक्ष नेपालले वामपन्थी, कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको भन्दै सबैलाई एकतावद्ध गरेर राष्ट्रियता, जनजीविका लगायतका विषयलाई उचित ढंगले अघि बढाउन राज्यलाई दबाब दिने बताए। उनले विचार मिलेसँगै अघि बढ्न सकिने र विचार मिल्न बाँकी रहे सहकार्य गर्न सकिने बताए। सत्ताको फेरबदलसँगै समाजवादी मोर्चा सक्रिय ढंगले अघि बढ्न नसकेकाले पुनः सक्रिय बनाउन खोजेको उनको भनाइ थियो।