स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण

रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा

रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा
तस्बिर : अन्नपूर्ण

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान र थुनछेक जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएको छ। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको आदेशमा ६५ लाख धरौटी बुझाएर बिहीबार रिहा भएका लामिछाने आज बिहान काठमाडौं जिल्ला अदालतमा  आफै  उपस्थित भएका थिए। कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको रास्वपा सभापति लामिछानेसहित ३९ जनाविरुद्ध  मुद्दा दर्ता भएको छ। 

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारीमा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लामिछानेविरुद्ध सुमन खनालसमेतले जाहेर दिएका थिए।

बयान सकिएपछि थुनछेक बहस सुरू हुनेछ। थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछन्। उनीविरुद्ध चितवन,रुपन्देही र पर्सामा पनि सहकारी ठगीमा मुद्दा दायर भइसकेको छ। त्यहाँ यसअघि उनीसँग अनुसन्धान अधिकृतले बयान लिइसकेका छन्।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । धरौटीमा छु्टेपछि बिहीबार पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो ।  अदालतको आदेशानुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका हुन् । उनीसँगै छविलाल जोशी,रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए। लीला पछाईँ भने धरौटी बुझाउन नसकेपछि कारागारमै छिन्। 

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछानेसहित जीबी राई,पूर्वडीआईजी छविलाल जोशी,जीबीको साढुभाई दीपक लामा,कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ३९ जनालाई ‍प्रतिवादी कायम गरिएको छ। 

उक्त सहकारी ठगी प्रकरणमा ६९० जनाले ९३ वटा जाहेर दिएका छन्। सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार ४ सय ६५ रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धानले देखाएको छ।

यस अगाडि कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा काठमाडौं जिल्ला अदालतको आदेशपछि मंगलबार रिहा भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.