अध्यादेशप्रति कांग्रेसभित्रै असन्तुष्टि, साउद भन्छन् - संसदबाट विधेयक ल्याउनुपर्छ
काठमाडौं : नेपाली कांग्रेसका नेता एनपी साउदले दुई तिहाई बहुमतको सरकारले अध्ययादेशमार्फत कानुन बनाउनु सकारात्मक पक्ष नभएको बताएका छन्। बुटवलमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै साउदले संसद छलेर अध्यादेशमार्फत गएका कुराहरूले स्थायीत्व दिन नसक्ने समेत बताए। बहुमत हुँदा पनि संसद बैठक नचलाएर बन्धक बनाउन खोज्दै अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको उनले बताए।
उनले अध्ययादेशमार्फत ल्याइएका विषयवस्तुमा बिपक्षी दलको पनि समर्थन हुने खालका विषय भएपनि संसदमा नलैजाँदा प्रश्न उठेको तर्क गरे। साउदले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले साथ दिएको बताउँदै सरकारले तदनुसारका क्रियाकलापहरु नगरेको गुनासो गरे।
दुई दल बीचको न्युनतम साझा सहमति कार्यान्वयन नभएको गुनासो आइरहेको भन्दै पूर्ण पालना गर्न उनले सुझाव समेत दिए।
नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए । संविधान संशोधनसम्बन्धी सञ्चारकर्मीको प्रश्नमा उनले अब संविधान सबैले सर्वस्वीकार्य हुने र अपनत्व गर्नेगरि संशोधन गर्ने बेला आएको धारणा राखे।