विभेद अन्त्य र आर्थिक, सामाजिक सशक्तिकरणमा ध्यान केन्द्रित गरौं : महासचिव पोखरेल
दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले विभेद अन्त्य र आर्थिक, सामाजिक सशक्तिकरणमा ध्यान केन्द्रित हुनुपर्ने समय आएको बताएका छन्। आइतबार दाङमा नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपाली समाज उदार समाज भएकोले सामाजिक रूपान्तरण सजिलै गर्न सकिने बताएका हुन्।
सामाजिक विभेदबाट मुक्त हुनको लागि आर्थिक रूपमा सबल हुन पनि त्यतिकै जरुरी रहेको उनको भनाई छ। उनले सङ्कटग्रस्त दलित समुदायलाई जमिन र घरबासको व्यवस्था राज्यले गर्ने बताए। उनले जमिन नभएका सबै दलित परिवारलाई भूमि आयोगसँग जोड्नुपर्ने धारणा राखे। संविधानले नै गरेको यो व्यवस्था जिल्ला जिल्लामा भूमि आयोग गठन हुने बित्तिकै कार्यान्वयनमा आउने पोखरेलले स्पष्ट पारे ।
दलित समुदायले आफ्नो सीप र पेसालाई व्यवसायिक बनाउने कुरामा पनि ध्यान दिनु पर्ने उनको जोड छ। दलित समुदायको भोट कहाँ जान्छ भन्ने कुरा मतदानको अघिल्लो दिन मात्र थाहा हुन्छ भन्ने मानसिकताले गर्दा दलित समुदायमा राजनीतिक सशक्तीकरण हुन नसकेको उनले बताए । दलित समुदाय संगठित हुने हो भने राजनीतिक नेतृत्व विकास हुने पोखरेलको धारणा छ। ‘समुदायको नेताको वरिपरि समुदाय संगठित हुनुपर्यो, संगठित जीवनमा हामी जति जोडिन सक्छौँ त्यति नै समुदाय सशक्त हुन्छ’, उनले भने।