भरुवा बन्दुकसहित पक्राउ परेका पाँच जना सिकारी हिरासतमा
धरान : सुनसरीको धरान उपमहानगरपालिका-१९ हरियाली सामुदायिक बनको चारकोसे जंगलबाट बरुवा बन्दुकसहित पाँच जना सिकारीलाई प्रहरीले पक्राउ छ। शनिबार राति सिकार गर्ने उद्देश्यले जङ्गल प्रवेश गरेका उनीहरूलाइ प्रहरीले पिछा गरेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए।
धरानबाट रामधुनी नगरपालिकाको रास तालतर्फ जादैँ गरेको बा ४ च ४३३ नम्बरको कारलाई चारकोशे जङ्गलमा चेकजाँच गर्दा उनीहरु बरुवा बन्दुकसहित पक्राउ परेको डीएसपी तिमल्सिनाले बताए। पक्राउ पर्नेमा सुनसरी इटहरी उप-महानगरपालिका-१३ बस्ने ज्योतिस चौधरी, रामधुनी नगरपालिका-७ का सन्जु राई, विनय राज धामी, दिवश माझी र मोरङ सुन्दरहरैचा नगरपालिका-२ का मेहरमान भुजेल रहेको उनले बताए।
पक्राउ परेकाहरूको साथबाट भरुवा बन्दुक एक थान, टोटा बन्दुकको गोली दुई थान, बारुद भरिएको सानो बट्टा दुईथान, प्लाष्टिकमा पोका बनाएको सानो पोका बारुद एक पोका, सानो सेतो बट्टामा रहेको बारुदको बट्टा एकथान, भरुवा बन्दुकमा लाग्ने फलामको गोली तीन थान र एकथान खुकुरी बरामद गरिएको डीएसपी तिमल्सिनाले बताए।
उनीहरू रातको समय पारेर जङ्गल क्षेत्रमा बदेल, हरिण, मृग लगायतका जंगली जनावर सिकार खेल्न प्रवेश गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक दिवस कुवरले जानकारी दिए।