पत्रकार महासंघले भन्यो : धरानका मेयरले सामाजिक द्वन्द्व बढाए, अधिकार दुरुपयोग गर्दै कानुनभन्दा आफूलाई माथि राख्न खोजे
महासंघले साङपाङले सुरु गरेको श्रमदानको अभियानलाई सकारात्मक रहेपनि आर्थिक कारोबारमा पारदर्शिताको गम्भीर प्रश्न उठेको बताएको छ।
काठमाडौं : नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ (हर्कराज राई)का कारण सामाजिक दूरी र द्वन्द्व बढ्दै गएको निष्कर्ष निकालेको छ। आइतबार धरानका पत्रकार गोपाल दाहालबारे स्थलगत अध्ययन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै महासंघले मेयर राईले अधिकार दुरुपयोग गर्दै आफूलाई कानुनभन्दामाथि राख्न खोजेको निष्कर्ष निकालेको महासचिव रामप्रसाद दाहालले जानकारी दिए।
महासंघले केन्द्रीय सदस्य कमल रिमाल र शंकर खरेल, महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष भरतबहादुर खड्का, सुनसरी शाखा अध्यक्ष सन्तोष काफ्ले र वरिष्ठ पत्रकार हर्ष सुब्बाले सबै दलसँग छलफल गरी तयार पारेको स्थलगत प्रतिवेदनका आधारमा निष्कर्ष निकालिएको महासंघको विज्ञप्तिमा उल्लेख छ।
‘धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राईका गतिविधिहरू सामाजिक रुपमा दुरी र द्वन्द्व बढाउने खालका छन्।’ स्थलगत प्रतिवेदनका मुख्यमुख्य बुँदा सार्वजनिक गर्दै महासंघले भनेको छ, ‘प्रमुख राईले आफ्नो आलोचना गर्नेहरू, नगरमा भएका बेथितिबारे समाचार लेख्नेहरूलाई गाली बेइज्जत गर्ने, समर्थकहरूबाट धम्की दिन लगाउने, भौतिक आक्रमणसम्म गर्ने र थप समाचारहरू लेख्न नसक्ने बनाउनेसम्मका कार्यहरू भइरहेको देखिन्छ।’
राईले सामाजिक सञ्जालमा उनको गलत कार्यको समाचार लेख्ने पत्रकारहरूलाई लक्षित गर्दै धम्कीपूर्ण सामग्री सार्वजनिक गरेर समर्थकहरूलाई पनि हौसाएको महासंघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। ‘नगर प्रमुखबाट आफ्नो राम्रो कामको पक्षको कुरा लेखाउने, भिडियो बनाउने काममा युट्युबरहरूलाई प्रयोग गरेको पाइएको छ। व्यावसायिक पत्रकारहरूलाई निशाना बनाउने काम गरेको देखिन्छ। जवाफ दिन अनुकूल प्रश्न नगर्नेलाई प्रमुख राईले दलको झोले पत्रकार भनेर गाली गर्ने गरेको देखिन्छ।’
महासंघले पत्रकार गोपाल दाहाललाई ज्यान मार्नेसम्मको धम्की दिइएको घटनाले पत्रकारिता तथा पत्रकारको सुरक्षा र स्वतन्त्रता जोखिममा परेको प्रष्ट पार्ने उल्लेख गरेको छ। ‘अझ पत्रकारहरूको परिवार पनि मानसिक तनाव र धम्कीको सामना गर्न बाध्य भएको पाइयो। यसबाट संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको देखिन्छ’विज्ञप्तिमा भनिएको छ।
महासंघले साङपाङले सुरु गरेको श्रमदानको अभियानलाई सकारात्मक रहेपनि आर्थिक कारोबारमा पारदर्शिताको गम्भीर प्रश्न उठेको बताएको छ।
‘नगर प्रमुखको कार्यभार सम्हालेलगत्तै उनले सुरु गरेको श्रमदानको अभियानलाई सकारात्मक मान्न सकिन्छ। तर, धरानको विकासका लागि श्रमदानमार्फत संकलन गरेको रकम उपमहानगरपालिकाको खातामा जम्मा नगरी निजी खातामा राखेर आफूखुसी निकासा गरेकाले समाचारको विषय बनेको मात्र होइन स्थानीय सरकारको आर्थिक कारोबारमा पारदर्शिताको गम्भीर प्रश्न उठेको छ। यसबारे राज्य संयन्त्रले छानबिन गर्नुपर्ने देखिन्छ’ महासंघले भनेको छ।
प्रतिवेदनको निष्कर्षका आधारमा थप छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न महासंघको केन्द्रीय कार्यसमितिले गृहमन्त्री र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई भेटेर प्रतिवेदन हस्तान्तरण गर्ने तयारी गरिरहेको जनाएको छ। पत्रकार गोपाल दाहालले खोज पत्रकारिता केन्द्रका लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ समाचार लेखेका थिए। त्यसपछि मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत पत्रकारलाई धम्की दिएपछि अध्ययन गर्न पत्रकार महासंघले टोली पठाएको थियो।
हेर्नुहोस् विज्ञप्ति