एनसेलको सधैं अनमा अब फ्रि अनलिमिटेड नाइट डेटा
काठमाडौं : एनसेलले आफ्ना सधैं अन प्याकहरू लिने ग्राहकहरूलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ। यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्छन्।
पुस २५ बाट सुरु भएको यो योजना अन्तर्गत सधैं अनका रु ३९९ बाट सुरु हुने बेस्ट र रु ७९९ बाट सुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राती ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्छन्। यसको मतबल प्याकमा पाइने बन्डल सेवा, सुविधा बाहेक अब ग्राहकहरूले यो नाइट डेटा पनि पाउँछन्।
सधैं अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले यो योजना लागु गरेको हो। रु ३९९, रु ४९९, रु ५९९ का बेस्ट प्याक र रु ७९९, रु ९९९ र रु १,४९९ का अनलिमिटेड प्याक लिने ग्राहकहरूले यो योजनाबाट फाइदा लिन सक्छन्। यो थप सुविधा बाहेक कम्पनीले यी प्याकहरू लिने ग्राहकलाई पहिला नै अनलिमिटेड यूट्युबमा पहुँच प्रदान गर्दै आएको छ।
२८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकमा प्याक अनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ। त्यसैगरी सधैं अनको अनलिमिटेड प्याकका ग्राहकहरूले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अन लिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन्।
एनसेलले गत जेठमा फाइभजी भिजनमा आधारित हुँदै सधैं अन योजना सञ्चालनमा ल्याएको थियो। यसको मुख्य औचित्य भनेको आम नेपाली ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डेटा सधैँ अन राख्न प्रेरित गर्दै सशक्त बनाएर डिजिटल भविष्यतिर डोर्याउनु हो।