माघे संक्रान्तिमा हुने गोरु जुधाइको तयारी पूरा
नुवाकोट : माघे संक्रान्तिका अवसरमा नुवाकोटको विभिन्न स्थानहरूमा हुने गोरु जुधाइको तयारी पूरा भएको छ।
नुवाकोटको तारुका लगायतका स्थानमा गरिँदै आएको गोरु जुधाई मेलाका लागि गोरु दर्ता गराउने काम सबै स्थानमा सकिएको छ। माघ १ गते नुवाकोटको तारुका (तारकेश्वर गाउँपालिका), बेत्रावती (विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाउँपालिका लगायतका स्थानमा गोरु जुधाई हुँदै आएको छ।
जुधाइने गोरुको औषधि उपचार तथा बिमाको व्यवस्था गरिएको छ। गोरु जुधाइलाई यस पटक महोत्सवसहित मनोरञ्जनात्मक कार्यक्रमसमेत रहेको आयोजकले जानकारी दिएको छ। गोरु जुधाई हेर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गोरखाबाटसमेत सर्वसाधारण आउने गरेका छन्।