गोठालो जाँदा बाघले लियो ज्यान

गोठालो जाँदा बाघले लियो ज्यान
सुन्नुहोस्

गुलरिया : बाघको आक्रमणबाट ठाकुरबाबा–७ सुन्दरपुरकी ५० वर्षीया पदमकला थापाको आइतबार मृत्यु भएको छ। घर धन्दा सकेर बाख्रा चराउन जंगल गएकी उनलाई कहिल्यै नफर्किने गरी बाघले चुँडेर लग्यो। उनको निधनले घर परिवारसँगै गाउँ नै चिन्ता र त्रासमा छ।

बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै मध्यवर्ती क्षेत्र ठाकुरबाबा नगरपालिका-६ बकुवामा अवस्थित मुक्तिपुर सामुदायिक वनको चरण क्षेत्रमा बाख्रा चराउने क्रममा पाटेबाघले आक्रमण गर्दा थापाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर अशोककुमार रामले पुष्टि गरे। आक्रमणकारी बाघ नियन्त्रणमा लिन घटनास्थल क्षेत्रमा हात्तीसहितको प्राविधिक परिचालन गरिएको उनले बताए। उनले भने, ‘बाघ देख्ने बित्तिकै डार्ट गरी लठ्याउँछौ र बाघ समाउँछौ।’

बर्दियामा संरक्षणको प्रभावले बाघको वासस्थान एवम् आहारा प्रजातिको घनत्व भएकाले पनि बाघको संख्या वृद्धि भएको छ। पछिल्लो तथ्यांकअनुसार बर्दियामा १ सय २५ वटा पाटेबाघ छन्। निकुञ्ज लगायत मध्यवर्ती क्षेत्रका वनहरूमा बाघको चहलपहल बढेकोले अनावश्यक रूपमा जंगल प्रवेश नगर्न प्रमुख संरक्षण अधिकृत डाक्टर रामले अनुरोध गरे। उनले सकभर जंगल नजाने जानै परे एक्लै जंगल नगई समूहमा मात्र जान सुझाव दिए। बर्दियामा वन्यजन्तुको संख्या बढेकोले सतर्क रहन उनको आग्रह छ।

आइतबार दिउँसो साढे १२ बजे बाख्रा चराउन जंगल गएकी थापालाई बाघले आक्रमण गरी घिसार्दै जंगलभित्रै लगेको थियो। बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, प्रहरीलगायत स्थानीयको सक्रियतामा पौने २ बजे जंगलभित्रैबाट शव बाहिर ल्याएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक ऋषिराम घर्ती मगरले बताए। होहल्ला गरेपछि बाघ भागेको हो। उनले भने, ‘बाघले टाउको र घाँटीमा आक्रमण गरेको छ। शव पोस्टमार्टमका लागि अस्पताल पठाएका छौं।’

यससँगै चालु आर्थिक वर्षमा बर्दियामा बाघको आक्रमणबाट दुईजना महिलाको मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका प्रमुख अजित तुम्बाहाङफेले बताए। गत भदौ महिनामा बाँसगढीमा एकजना महिलाको बाघ आक्रमणमा परी मृत्यु भएको थियो। त्यस्तै गैंडा र हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको उनले प्रस्ट्याए। घाँस, दाउरा लिन जंगल जानुपर्ने बाध्यताले पनि वन्यजन्तुको आक्रमणमा परि मृत्यु हुने जोखिम बढेको स्थानीयको गुनासो छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.