उत्पादनमुखी शिक्षा आवश्यक छ : मुख्यमन्त्री लामा
नुवाकोट : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अब परिवर्तित समयअनुसार शिक्षाको आवश्यकता रहेको बताए। उनले उत्पादनमुखी शिक्षामा जोड दिँदै सिपमुलक शिक्षा अवलम्बन गर्ने बागमती प्रदेशको योजना रहेको बताए।
नुवाकोटको विदुरमा आइतवार आयोजित विद्यार्थीहरूलाई सर्टिफिकेट मात्रै नभएर सिपमुलक कार्यक्रममा जोड दिइनुपर्ने बताए। उनले विकासका लागि दीर्घकालीन र विशेष योजना आवश्यक रहेको बताए।
दीर्घकालीन योजनाको ध्यान दिएर मात्र विकास निर्माण सुरु गरिने परिपाटी आफूले सुरु गरेको मुख्यमन्त्री लामाले बताए। मुख्यमन्त्री लामाले बागमती प्रदेशले विशेष रूपमा योजना बैंक बनाएर मात्र विकासको कार्य सुरु गरिरहेको दाबी गरे।
स्थानीय तह, प्रदेश तथा संघीय सरकारसँग साझेदारीबाट मात्र विकास सम्भव रहेको बताउँदै लामाले विकासमा दोहोरो तेहरो नभई नमुनायोग्य काम गर्नुपर्ने बताए। मुख्यमन्त्री लामाले युग र समय सुहाउँदो शिक्षाबाटै बालबालिकाहरूको स्तर उकासिने बताए।
उनले शिक्षाको परिवर्तनका लागि प्रदेश सरकारले विशेष योजना बनाउने समेत बताए। शिक्षा क्षेत्रमा राजनीति गर्न नहुने मुख्यमन्त्री लामाको भनाइ छ।