फूलबारी–बंगलाबन्ध जाने नेपाली गाडीको भारवहन सीमा हट्ने

नेपाल–भारत वाणिज्य सचिवस्तरीय समिति बैठक

फूलबारी–बंगलाबन्ध जाने नेपाली गाडीको भारवहन सीमा हट्ने
सुन्नुहोस्

नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकले काँकडभिट्टा फूलबारी–बंगलाबन्ध हुँदै आवतजावत गर्ने नेपाली मालवाहक सवारी साधनमा लगाइएको भार बहनको सीमा हटाउने सहमति गरेको छ । राजधानीमा शनिबार सम्पन्न दुई दिने बैठकले यस्तो सहमति गरेको उद्योग मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिए । 

सहमतिअनुसार नेपाली मालबाहक गाडीले पनि भारतीय गाडी सरह उक्त सीमा क्षेत्रमा आवतजावत गर्न पाउने छन् । सचिवस्तरीय समिति बैठकको काम छलफल गर्ने र आवश्यक निर्देशन दिने भएको मन्त्रालयका प्रवक्ता अधिकारीले बताए । यो सहमतिका आधारमा पत्राचार भएपछि मात्र सम्बन्धित निकायले कार्यान्वनयन गर्ने प्रक्रिया सुरु हुने बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको १५ बुँदे सहमतिमा नेपाल–भारतबीचको पारवहन सन्धि संशोधन गरी विराटनगर तथा भैरहवाबाट रेलमार्फत सबै किसिमका कार्गो ढुवानी गर्न पाउने व्यवस्थाका लागि नेपालले पठाएको लेटर अफ एक्सचेन्ज चाँडो टुंग्याउने विषयमा सहमति भएको छ । दुई देशका सचिवस्तरीय अन्तर सरकारी समितिको बैठकमा पारवहन सन्धिको नवीकरण तथा रेल सेवा सम्झौताको संशोधनका विषयमा पनि छलफल भएको थियो । 

यस्तै, नेपालले वाणिज्य सन्धि पुनरावलोकन गर्न पनि आग्रह गरेको थियो । नेपाली वस्तु निर्यातमा भारतले लगाउँदै आएको परिणामात्मक बन्देज हटाउन नेपालले आग्रह गरेको थियो । उक्त सन्धिअनुसार, सन् २००२ देखि वनस्पति घिउ, तामाका वस्तु, जिंक अक्साइड र एक्रेलिक यार्नमा भारतले परिणात्मक बन्देज लगाउँदै आएको छ । वनस्पति घिउ १ लाख टन, यार्न १० हजार टन, तामाका भाँडा १० हजार टन र जिंक अक्साइड २ हजार ५ सय टनसम्म मात्रै नेपालले भारत निर्यात गर्न सक्ने उल्लेख छ ।

नेपाल भारतबीचको वाणिज्य सन्धि पुनरावलोकनका विषयमा चौथो चरणको वार्ता छिट्टै गर्ने, पारवहन सन्धिलाई कार्यान्वयनमा ल्याउन नेपालद्वारा प्रेषित लेटर अफ एक्चेन्जलाई छिट्टै निष्कर्षमा पुर्‍याउने निर्णय भएको मन्त्रालयका प्रवक्ता अधिकारीले बताए । यस्तै, सचिवस्तरीय बैठकमा भारतमा निकासी गर्ने जुत्ता, प्लाइउड, यार्न, सेनेटरी प्याड, सिमेन्ट, जस्तापाता र स्टिलजन्य वस्तुहरूमा बीआईएस (ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड) प्रमाणपत्र अनिवार्य गरेको विषयमा पनि छलफल भएको थियो । बीआइएस प्रमाणपत्र दिन वा नवीकरण गर्न भारतीय पक्षबाट हुने ढिलाइ हटाउन नेपालले आग्रह गरेको थियो । 

भारतमा निकासी हुने यी नेपाली वस्तुहरूको सहज निकासीका लागि प्राथमिकताका आधारमा बीआईएस प्रमाणपत्र जारी गर्ने र नवीकरण गर्ने प्रक्रियालाई तीव्रता दिन भारतीय पक्ष सहमत भएको छ । पहिलो दिनको बैठकमा नेपालमा उत्पादन नहुने पशुजन्य खाद्य पदार्थको भारतबाट हुने आयातलाई सहजीकरण गर्ने सहमति भएको थियो ।  नेपालको गुणस्तर तथा नापतौल विभाग र भारतको ब्युरो या इन्डियन स्ट्यान्डर्डस् तथा नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको समकक्षी निकायसँग पारस्परिक सहयोग अभिवृद्धि गरी वस्तुको गुणस्तर निर्धारण तथा परीक्षण, प्रमाणीकरण र पारस्पारिक मान्यताको प्रक्रियालाई अगाडि बढाउने, औषधिको आयात निर्यातलाई व्यवस्थित गर्ने, भन्सार प्रक्रियालाई सहजीकरण गर्ने, दुवै पक्षका विषयगत संयन्त्रयहरूमार्फत सम्बन्धित विषयहरू समयमै टुंग्याउँदै जाने लगायतका विषयमा सहमति भएको थियो ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य तथा उद्योग मन्त्रालयका सचिव सुनील बर्थवालले गरेका थिए । बैठकमा दुवै देशका वाणिज्य, कृषि तथा खाद्य प्रविधि, गुणस्तर नियन्त्रण, क्वारेन्टाइन, भन्सार, औषधि व्यवस्था, सडक पूर्वाधार र रेल, ल्यान्ड पोर्टलगायतका सरकारी निकायका प्रतिनिधिहरू सहभागी थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.