उपचार खर्चको अभावमा छटपटाउँदै स्याल आक्रमणका घाइते
काठमाडौं : सधैं झै मतिदेवी महतो बाख्रा चराउँदै थिइन्। गौशाला—११ लक्ष्मिनियाँकी ८५ वर्षीया महतोलाई एक्कासि स्यालले आक्रमण गर्यो। उनका मुखका विभिन्न भागमा स्यालले कोतरिदियो। चिकित्सकहरूले मतिदेवीको छाला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन्। तर, त्यसका लागि उनीसँग पैसा छैन। ९ दिनदेखि राष्ट्रिय ट्रमा सेन्टरमा छटपटाइरहेकी छिन्। मतिदेवीको आर्थिक अवस्था नाजुक छ।
‘जहाँ गहिरो, त्यही पहिरो’ भने झैं मतिदेवीको जीवनमा पीडामाथि पीडा थपिएका छन्। ८ वर्षअघि छोरा उतिमलाल वैदेशिक रोजगारीका लागि खाडी गए। छोरा विदेश गएपछि ‘टन्न कमाएर ल्याउला र बुढेसकालमा’ सुख पाइएला भन्ने मतिदेवीको सपना थियो। तर, विदेशबाट कमाई आएन, उल्टै छोराको शव बन्द बाकसमा आयो। त्यसपछि त मतिदेवी र बुहारी कवितालाई हातमुख जोर्नै समस्या भयो। खर्च टार्न खसी, बाख्रा पाल्न थालिन्। तर, बहुलाएको स्यालले टोकेर घाइते बनाएपछि मतिदेवीको जीवनमा थप संकट आइलागेको छ।
अस्पतालमा मतिदेवीलाई बुहारी कविताले स्याहार गरिरहेकी छिन् । तर, कवितालाई सासुको उपचार गर्न खर्च जुटाउन धौ–धौ छ। ‘स्यालले टोक्दा सासुको अनुहारमा घाउै घाउ छन्,’ कविताले भनिन्, ‘छाला प्रत्यारोपण गर्न दुइटा अप्रेसन गर्नुपर्छ भनेर डाक्टरले भन्नुभएको छ। तर, हामीसँग पैसा छैन ।’
नाति श्रवन महतोका अनुसार मतिदेवीको एउटा अप्रेसन भएको छ। ‘अर्को अप्रेसन छिट्टै गर्नुपर्ने छ। ऋण लिएको र गाउँबाट सहयोगमा मागेर ल्याएको २५ हजार गरी ६५ हजार खर्च भइसक्यो’, श्रवनले भने, ‘उपचारमा अझै ५० हजार बढी खर्च लाग्छ। खल्तीमा सुको छैन। अब अर्को अप्रेशनका लागि लाग्ने खर्च कसरी जुटाउने ?’
हुन त, पीडित परिवारले उपचार खर्चका लागि जिल्ला वन कार्यालयमा गुहार मागेका थिए। वडा कार्यालयमार्फत गौशाला नगरपालिकाको कार्यालयमा निवेदन पनि दिए। तर, उपचार खर्चको कहीँ कतैबाट प्रबन्ध नभएको श्रवनले गुनासो पोखे ।राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत लिलमदेवी साह (बायाँ) र मतिदेवी महतो। तस्बिर : राजकरण महतो
राष्ट्रिय ट्रमा सेन्टरको वर्न प्लास्टिक वार्ड नम्बर—६२६ मा भर्ना भएकी मति देवीलाई ‘छिट्टै निको हुन मन छ ।’ गाउँका गोठमा बाँधिएका ब्राखा—पाठा भोकै होलान् भन्ने चिन्ता छ।
स्याल आक्रमणबाट गम्भीर घाइते ५० वर्षीया मनमाया पोखरेलको अवस्था पनि उस्तै छ । उनलाई पनि उपचार खर्च जुटाउनै धौ–धौ छ। बाख्रा चराउन गएकी उनी पनि स्यालकै आक्रमणमा परेर गम्भीर घाइते भएकी थिइन् । अनुहारको घाउ मेटाउन उनलाई पनि दुइटा अप्रेसन गर्नुपर्ने राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले सुझाव दिएका छन्।
मनमायाको पहिलो चरणको अप्रेसन भएको छ। दोस्रो चरणको अप्रेसन गर्न आर्थिक अभाव भइरहेको छ। उपचारका लागि खोरका बाख्रा—खसी बिक्री गरिसकिन्। तै पनि पुगेन। थप उपचारका लागि कहाँबाट खर्च जुटाउने, उनको चिन्ता छ। ‘हामी बाख्रा चराउन फूलबारी गएका थियौं। स्याल सधैं देख्ने गरेका थियौं। तर, पुस ९ गते उखुबारीबाट फूलबारीतिर आएको स्यालले आक्रमण गर्यो’, पोखरेलले भनिन्, ‘पहिले चरिरहेको बाख्रालाई झम्ट्यो। गुहार माग्दै हल्ला गरेपछि स्यालले हामीमाथि पनि आक्रमण गर्यो ।’ दुई समूहमा नजिकै बाख्रा चराइरहेका गोठालामाथि स्यालले आक्रमण गर्दा ६ जना घाइते भएको उनले सुनाइन्।
स्याल आक्रमणबाट घाइते ५५ वर्षीया लिलम देवी साहले ऋण काढेर अप्रेसन गराइन्। दुइटा अप्रेसन गर्दा उनलाई १ लाख २० हजार ऋण लाग्यो। ट्रमा सेन्टरको शय्याबाट उनले भनिन्, ‘गाउँघरबाट सरपाट्टि र ऋण गरेर उपचार त गरे। अब त्यो ऋण कसरी तिर्ने चिन्ताले सताउन थाल्यो ।’ गोठमा भएको ब्राखा—खसी बेचेर पनि ऋण चुक्ता गर्ने अवस्था नभएको उनले बताइन्। स्यालको आक्रमणबाट १९ दिनअघि महोत्तरीको गौशाला नगरपालिका—११ लक्ष्मिनियाँका ७ जना सख्त घाइते भए।
उनीहरूले सरकारी निकायबाट उपचार खर्च पाएका छैनन् । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरिरहेका छन् । पुस ९ गते गाउँ नजिकैको फूलबारीमा बाख्रा चराइरहेका उनीहरूलाई बहुलाएको स्यालले आक्रमण गरेको थियो ।
घाइते सबैको गाउँमा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव भएन । थप उपचारका लागि घाइतेलाई काठमाडौं रिफर गरिएको थियो । सख्त घाइतेलाई अपे्रसन गरेर छाला प्रत्यारोपण गर्नुपर्ने अस्पतालले जनाएको छ । तर, छाला प्रत्यारोपण गर्नुपर्ने भएकाले उपचार खर्च धेरै लाग्ने भएको हो । लाखौं खर्च लाग्ने भएकोले उनीहरूसँग उपचार खर्च छैन । वन ऐन र वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिकाले स्याल आक्रमणबाट जनधनको क्षति भएमा राहत दिनुपर्ने कानुनी व्यवस्था गरेको छैन । यसले गर्दा पीडितहरूले घटनाको १९ दिन बित्दा पनि सामान्य उपचार खर्च पाउन सकेका छैनन् ।
कानुनी अभावले राहतमा समस्या
कानुनी अभावका कारण स्याल आक्रमणका घाइतेहरूलाई राहत दिन नसकिएको जिल्ला वन कार्यालय महोत्तरीले जनाएको छ । डिभिजन वन प्रमुख अजयकुमार मिश्रले भने, ‘हामी थोरै भए पनि उहाँहरूलाई राहत दिन सक्छौं । तर, स्याल आक्रमणबाट धनजनको क्षति भएमा राहत दिनुपर्नेबारे कानुन मौन छ ।’
मधेस प्रदेश वन ऐन, २०७७ को दफा– ८९ मा वन्यजन्तुबाट हुने क्षतिबापत राहत दिइने व्यवस्था छ । त्यसको उफदफा (२) मा वन्यजन्तुबाट कसैको धनजनको क्षति भएमा क्षतिबापत तोकिएबमोजिम राहत दिइने उल्लेख छ । यसैलाई टेकेर बनेको वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० अनुसार स्यालको आक्रमणबाट जनधनको क्षति भएमा उपचार खर्च, मृत्यु भएमा क्रियाखर्चबापत पीडित र पीडित परिवारलाई राहत रकम उपलब्ध गराउने कानुनी व्यवस्था गरेको छैन ।
निर्देशिकाको दफा—३ को अनुसूची १६ वटा वन्यजन्तुलाई जंगली जीवजन्तुको सूचीमा राखेको छ । यी वन्यवस्तुमा जनधनको क्षति भएमा मात्रै राहत दिने व्यवस्था गरेको छ । निर्देशिकाले वन्यजन्तमा स्याललाई समेटेको छैन । निर्देशिका अनुसार हात्ती, गैंडा, बाघ, भालु, चितवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, मगर गोही, गौरीगाई, अजिंगर, नीलगाई र बाँदरले आक्रमण गरेमा मात्रै क्षतिपूर्ति पाउने व्यवस्था छ ।
कानुन संशोधन गरेर स्याल आक्रमणबाट जनधनको क्षति भएमा पीडित र पीडित परिवारलाई राहत दिनुपर्ने वातावरण विज्ञको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु (पाँचौं संशोधन) नियमावली—२०७६ ले स्याललाई पनि जंगली जनावरको रूपमा उल्लेख गरेको छ । ‘स्यालको आक्रमणबाट जनधनको क्षति भएमा पीडितलाई सरकारले किन क्षतिपूर्ति र राहत नदिने ? चुरे तथा वातावरण विद् डा. विजयकुमार सिंहको प्रश्न छ ।
कानुनले स्याललाई जंगली जनावरका रूपमा व्याख्या गरेको बताउँदै उनी भन्छन्, ‘सामान्य अवस्थामा स्यालले टोक्दैन । जब स्याल बहुलाउँछ मानिस र वस्तुभाउमाथि आक्रमण गर्छ । जसरी कुकुरले टोक्दा उपचार गर्नुपर्छ । त्यसैगरी स्यालले टोक्दा उपचार गर्नुपर्छ । समयमा उपचार नपाए ज्यानै जोखिममा पर्छ । त्यसैले सरकारले स्यालबाट घाइतेहरूको उपचार खर्च उपलब्ध गराउन ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८०’ संसोधन गर्नुपर्छ ।’ पीडितहरूको उपचारमा सहयोग गरिदिन गौशाला नगरपालिकालाई अनुरोध गरिएको महोत्तरीका सीडीओ लालबाबु कवाडीले बताए ।
उनले भने, ‘पीडितहरूको उपचारमा हामी गम्भीर छौं । आर्थिक अभावकै कारणले उपचारमा कुनै समस्या हुँदैन ।’ गौशाला नगरपालिकाका मेयर डा. दीपेन्द्र महतोले स्यालको आक्रमणबाट गम्भीर घाइते नगरबासीलाई उपचारमा त्रुटि हुन नदिने बताए । उनले भने, ‘घाइतेहरूको उपचारको सबै खर्च नगरपालिकाले उपलब्ध गराउँछ । त्यसका लागि नगरकार्यपालिको बैठक बसेर उपचार खर्च उपलब्ध गराउँछौं ।’