स्वस्थानी ब्रत : शालीनदीमा स्नान गर्नेको घुइँचो (फोटोफिचर)
काठमाडौं : आजदेखि स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू भएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो मेला लाग्ने गर्छ। यसै अवसरमा काठमाडौंको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको भीड लागेको छ। साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्ने गर्छ।
माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने जनविश्वास छ। जसका कारण बिहानैदेखि विभिन्न स्थानबाट सन्तोषी माताको दर्शन गर्न भक्तालुहरू शालीनदीमा आइपुगेका हुन्। शालीनदीको कुण्डमा नुहाइधुवाइ गरी सन्तोषी माताको दर्शन गर्दा मनले चिताएको पूरा हुने विश्वासले यहाँ आएको भक्तालुहरू बताउँछन्।
सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ।
स्वस्थानी कथासँग सम्बन्धित अनुष्ठानहरू देशभरका विभिन्न हिन्दू तीर्थहरूमा नदीहरूको किनारमा हुन्छन्। साँखु नजिकैको सालिनदी किनारमा भक्तजनले श्रीस्वस्थानी, नवराज ब्राह्मण, गोमा ब्राह्मणी, चन्द्रावतीलगायत विभिन्न तीर्थस्थलमा पुगेर पूजा गर्छन्।
तस्बिर : अभिषेक महर्जन