काठमाडौं : स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध आज थुनछेक बहस सुरू हुने भएको छ। थुनछेक बहसका लागि प्रहरीले लामिछानेलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइसकेको छ।
आइतबार बयान सकिए पनि थुनछेक बहस नभएपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको थियो।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार रिहा भएका लामिछाने आइतबार बिहान अदालतमा आफै उपस्थित भएका थिए। उनको दिनभर बयान चलेको थियो।
कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको रास्वपा सभापति लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछन्। उनीविरुद्ध चितवन,रुपन्देही र पर्सामा पनि सहकारी ठगीमा मुद्दा दायर भइसकेको छ। त्यहाँ यसअघि उनीसँग अनुसन्धान अधिकृतले बयान लिइसकेका छन्।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछानेसहित जीबी राई,पूर्वडीआईजी छविलाल जोशी,जीबीको साढुभाई दीपक लामा,कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ३९ जनालाई प्रतिवादी कायम गरिएको छ।
उक्त सहकारी ठगी प्रकरणमा ६९० जनाले ९३ वटा जाहेर दिएका छन्। सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार ४ सय ६५ रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धानले देखाएको छ।